समानुपातिक सूची नमिलाएका दललाई आयोगको पत्राचार « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

समानुपातिक सूची नमिलाएका दललाई आयोगको पत्राचार


१८ पुस २०७४, मंगलबार


काठमाडौं । प्रदेश सभामा समानुपातिक सिट पाएका १३ मध्ये ६ दलको उम्मेदवार छनोट नमिलेको भन्दै निर्वाचन अयोगले सच्याउन पत्राचार गरेको छ । उम्मेदवारको क्रमसंख्या नमिलाई पठाएको, एउटा समुदायको कोटामा अर्को समुदायको व्यक्ति पठाएको भन्दै आयोगले सोमबार दलहरूलाई तीन दिनभित्र सच्याउन पत्रचार गरेको छ ।

कांग्रेस, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी, राप्रपा, जनमोर्चा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले क्लस्टर नमिलाएर उम्मेदवारको सूची पठाएको आयोगले जनाएको छ ।

कांग्रेसले पठाएको सूचीमा जनजाति कोटाबाट पठाउनुपर्ने महिलाको कोटामा मुस्लिम समुदायको पुरुषलाई पठाएको छ । प्रदेश २ मा जनजाति महिलाको कोटाबाट शोभा लामालाई पठाउनुपर्नेमा मुस्लिमबाट शेखररसिद अलीको नाम सिफारिस गरेको छ ।

लामाले आयोगमा प्राथमिकता सूची र क्लस्टरवाइज निर्वाचित गर्न आग्रह गर्दै निवेदन नै दिएकी छन् । प्रदेश १ मा खसआर्य महिला कोटाबाट शान्ता पौडेलको पहिलो नम्बरमा नाम भए पनि तेस्रो नम्बरकी सीतादेवी पौडेललाई पठाएको छ । त्यसैगरी, थारू र दलित पठाउनुपर्नेमा मुस्लिम वा अन्य समुदाय पठाएको पनि आयोगका जनाएको छ । महिलाको अनुपात पनि मिलाइएको छैन ।

प्रदेश १ बाट समानुपातिकमा एक सिट पाएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले महिला पठाउनुपर्ने कोटामा पुरुष पठाएको छ । आयोगले एक सिट पाएको अवस्थामा महिला अनिवार्य पठाउनुपर्ने व्यवस्था गरे पनि मञ्चले पुरुषतर्फ एक नम्बरमा भएका कुमार लिङ्देनको नाम पठाएको छ ।

जनमोर्चाले पनि महिला पठाउनुपर्ने कोटाबाट पुरुषलाई पठाएको छ । प्रदेश ५ मा एक सिट पाएको जनमोर्चाले बमबहादुर खत्रीलाई पठाएको छ, तर महिलाबाट तारा जिसीलाई पठाउनुपर्ने थियो । राप्रपाले पाएको सूचीमा पनि समस्या देखिएको आयोगले जनाएको छ ।

निर्वाचन आयोग प्रदेश सभामा समानुपातिकतर्फबाट निर्वाचित उम्मेदवारको सूची सार्वजनिक गर्न प्रदेश प्रमुखको नियुक्ति कुरेर बसेको छ । प्रदेश सभाको निर्वाचनको परिणाम प्रदेश प्रमुखलाई बुझाउनुपर्ने कानुनी व्यवस्था छ । प्रदेश सभाको समानुपातिक उम्मेदवार निर्वाचित भएको एक हप्ताभित्र प्रदेश प्रमुखलाई बुझाउनुपर्छ । तर, अहिलेसम्म सरकारले प्रदेश प्रमुख नियुक्त गरेको छैन । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस