प्रदेश प्रमुख नियुक्तिबारे के गर्दै छ सरकार ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रदेश प्रमुख नियुक्तिबारे के गर्दै छ सरकार ?


१८ पुस २०७४, मंगलबार


काठमाडौं । सरकारले केही दिनभित्रै सातवटै प्रदेश प्रमुख तोक्ने र राष्ट्रिय सभाको निर्वाचनको मिति घोषणा गर्ने भएको छ । राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेशमा लामो समय किचलो भए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश स्वीकृत गरिसकेकी छिन् । सरकारले अब निर्वाचन आयोगसँग परामर्श गरेर राष्ट्रिय सभा निर्वाचनको मिति घोषणाका साथै प्रदेश प्रमुख र उनीहरू बस्ने प्रदेश केन्द्र तोक्ने भएको हो ।

‘अब ढिलाइ गर्नुहुँदैन भन्नेमा छौँ । यसका लागि प्रधानमन्त्री छलफल गर्दै हुनुहुन्छ,’ वाणिज्यमन्त्री मीन विश्वकर्माले भने, ‘बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख र उनीहरू बस्ने केन्द्र पनि तोक्छ ।’ आयोगसँग परामर्श भएपछि राष्ट्रिय सभा निर्वाचनको मिति पनि त्यही दिन तोक्न सकिने उनले बताए ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले प्रमुख तोक्ने तयारी भइरहेको बताए । ‘निर्वाचन आयोगका पदाधिकारीले राष्ट्रिय सभाको निर्वाचन गर्ने मितिका लागि छलफल गरेर दिन सजेस्ट गर्छौँ भन्नुभएको छ । आयोगसँगको परामर्शअनुसार तीन–चार दिनभित्र मिति तोक्ने भन्ने भएको छ,’ परियारले भने, ‘अब सोमबारदेखि प्रमुख तोक्नेबारेमा छलफल हुन्छ । राष्ट्रिय सभाको मिति घोषणा र प्रदेश प्रमुख तोकिन्छन् ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस