प्रदेशसभा प्रमुख र राजधानी तोक्ने तयारी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रदेशसभा प्रमुख र राजधानी तोक्ने तयारी


१६ पुस २०७४, आइतबार


काठमाडौँ । सरकारले प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र (राजधानी) तोक्ने निर्णय यही साता गर्ने तयारी थालेको छ । प्रमुख र केन्द्रको टुंगो नलागेसम्म राष्ट्रिय सभा निर्वाचन नै प्रभावित हुने देखिएकाले यसलाई टुंग्याउने काम अघि बढाएको हो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने तयारी भइरहेको बताए । ‘प्रदेश प्रमुखलाई बाहिर सडकमा राख्ने कुरा भएन, त्यसैले प्रदेश केन्द्रको घोषणा र प्रदेश प्रमुखको नियुक्ति सँगै गर्ने तयारी भइरहेको छ,’ मन्त्री थापाले भने ।

स्रोतका अनुसार केही दिनभित्रै प्रदेश प्रमुखको नियुक्ति र अस्थायी केन्द्रको निर्णय हुनेछ । ‘राष्ट्रिय सभा अध्यादेशको गाँठो फुकेसँगै अरू प्रक्रिया अगाडि बढेको छ,’ स्रोतले भन्यो, ‘प्रदेश प्रमुख सम्बन्धमा प्रधानमन्त्रीले आन्तरिक छलफल सुरु गरिसक्नुभएको छ, सम्भवतः दुई÷तीन दिनमै निर्णय हुनेछ ।’

प्रदेशसभाको अन्तिम चुनावी परिणाम प्रदेश प्रमुखसमक्ष बुझाउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसैले प्रदेशसभाको चुनावी परिणामले आधिकारिकता नपाएसम्म राष्ट्रिय सभाको अन्तिम मतदाता संख्याको पनि टुंगो लाग्दैन । यो कानुनी बाध्यता बुझेर नै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रदेश प्रमुख नियुक्तिको प्रक्रिया चाँडो थाल्न आग्रह गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा निर्वाचनको अध्यादेश प्रमाणीकरण गरेसँगै केन्द्र र प्रदेश सरकार गठन प्रक्रियाको गाँठो फुकेको हो । संविधानअनुसार प्रदेशको कार्यकारिणी अधिकार प्रदेश मन्त्रिपरिषद्मा रहन्छ भने प्रत्येक प्रदेशमा संघीय सरकारको प्रतिनिधिका रूपमा प्रदेश प्रमुख रहनेछन् । प्रदेश प्रमुखको नियुक्ति केन्द्रीय सरकारको नेतृत्वमा राष्ट्रपतिबाट हुने व्यवस्था छ । त्यसैगरी प्रदेशसभा सञ्चालनका लागि समेत तत्काल प्रदेश प्रमुख नियुक्त गर्नुपर्ने बाध्यता छ ।

प्रदेशसभाको सञ्चालनअघि ज्येष्ठ सदस्यदेखि सभामुख, उपसभामुख तथा मुख्यमन्त्रीलाई प्रदेश प्रमुखले नै शपथ गराउने कानुनी व्यवस्था छ । स्रोतका अनुसार विद्यमान कानुनी व्यवस्था र आयोगको आग्रहबीच सरकारले यही साता प्रदेश प्रमुख नियुक्ति गर्ने तयारी गरेको हो । ‘प्रदेश प्रमुख उच्च मर्यादित पद भएकाले सामाजिक रूपमा उच्च छवि भएका व्यक्तिलाई नै नियुक्त गर्ने तयारी भइरहेको छ,’ स्रोतले भन्यो, ‘विभिन्न नाममाथि छलफल भइरहेको छ र यही साता टुंगो लाग्नेछ ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस