गच्छदारविरुद्धको रिटमा सर्वोच्चको कारण देखाउ आदेश « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गच्छदारविरुद्धको रिटमा सर्वोच्चको कारण देखाउ आदेश


१५ पुस २०७४, शनिबार


काठमाडौं । गच्छदारसँग पराजित एमाले उम्मेदवार भगवती चौधरीले पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा रिट हालेकी थिइन् ।

प्रधानन्यायाधीश गोपाल पराजुली, न्यायाधीशहरू दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्र शमशेर जबरा र दीपककुमार कार्कीको संवैधानिक इजलासले सुनुवाइ गर्दै अन्तरिम आदेश दिने/नदिनेबारे विपक्षी निर्वाचन आयोगलाई छलफलमा बोलाउन आदेश जारी गरेको हो । मतगणनामा धाँधली भएको विषयमा सर्वोच्चले विजयी उम्मेदवार विजयकुमार गच्छदार र आयोगलाई छलफलमा बोलाएको छ ।

मतगणनाका क्रममा फर्जी मतपत्र गणना गरेर आफूलाई पराजित गरिएको भन्दै चौधरीले गच्छदारविरुद्ध रिट हालेकी हुन् । उनले दायर गरेको रिटमा निर्वाचन आयोग केन्द्रीय कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरी, प्रतिनिधिसभा क्षेत्र नं ३, निर्वाचन अधिकृत टीकाभूषण घिमिरे र विजयी उम्मेदवार विजयकुमार गच्छदारलाई विपक्षी बनाइएको छ ।

चौधरीले गैरकानुनी मतगणनाबाट आफू पराजित हुनुपरेको भन्दै विजयी उम्मेदवार गच्छदारलाई प्रतिनिधिसभा सदस्यको शपथ नगराउनसमेत माग गरेकी छिन् । सुनसरी प्रतिनिधिसभा क्षेत्र नं ३ बाट विजयी कांग्रेस उम्मेदवार विजयकुमार गच्छदारले ३८ हजार ९ सय ७२ मत प्राप्त गरेका थिए । निकटतम प्रतिद्वन्द्वी चौधरीले ३८ हजार ६ सय ५१ मत प्राप्त गरेकी थिइन् ।

सर्लाही क्षेत्र नम्बर ४ का राष्ट्रिय जनता पार्टीका उम्मेदवार राकेशकुमार मिश्रले पुनः मतदान गर्न माग गर्दै संवैधानिक इजलासमा दायर गरेको रिट खारेज भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सर्लाही ४ बाट कांग्रेस उम्मेदवार अमरेशकुमार सिंह विजयी भएको घोषणा खारेज गर्नुपर्ने अवस्था नभएको भन्दै रिट खारेज गरेको हो ।

सर्लाही क्षेत्र नम्बर ४ मा माओवादी केन्द्रका उम्मेदवार शिवपुजन यादवको उम्मेदवारी खारेज भए पनि गोलाकारभित्रको हँसिया–हथौडा चिह्नसमेत मतपत्रमा उल्लेख हुनु त्रुटिपूर्ण भएको भन्दै मिश्रले रिट दायर गरेका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस