प्रदेश संरचना – मितव्ययी बनाउने सरकारी तयारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रदेश संरचना – मितव्ययी बनाउने सरकारी तयारी


१४ पुस २०७४, शुक्रबार


काठमाडौँ । सरकारले प्रदेशसभा तथा प्रदेश सरकारका मुकामहरू मितव्ययी बनाउने तयारी गरेको छ । केन्द्रीय मन्त्रालयको संरचनाझैं सबै प्रदेशका मन्त्रीलाई छुट्टाछुट्टै राख्नका लागि भवन खोजी गर्दा भने समस्या हुन थालेको सम्बद्ध अधिकारीहरूले जनाएका छन् । प्रदेशमा कस्तो संरचना बनाउने भन्नेबारे सहरी विकास मन्त्रालयसमेतको समन्वयमा काम भइरहेको जनाइएको छ ।

सरकारले प्रदेशका संरचना मितव्ययी बनाउन जोड दिए पनि प्रदेशमा चुनिएका र प्रभावशाली नेताहरूले मन्त्रालयपिच्छे छुट्टै संरचनामा चासो देखाउँदै दबाब दिएकाले समस्या परेको गुनासो प्रशासकहरूको छ ।
प्रधानमन्त्री कार्यालय र सम्बन्धित मन्त्रालयका सचिव तथा सहसचिवहरू प्रदेश संरचनाको गृहकार्यमा सक्रिय छन् ।

अहिलेहरेक प्रदेशका जनप्रतिनिधिले आफ्नोप्रदेशको सम्भावित राजधानीका राम्रा भवन उपयोग गर्ने प्रस्ताव पठाइरहेका छन् । त्यही अनुरूपको व्याख्या पनि गरिरहेका छन् । सरकारले भने भारतको पश्चिम बंगाल, गुजरात, मुम्बईलगायतको मोडलझैं एउटै प्रांगणभित्र मुख्यमन्त्रीसँगै अन्य मन्त्रीहरू रहने गरी संरचना खोजिरहेको छ । सबैजसो प्रदेशमा मुख्यमन्त्री र सात मन्त्री हुने हुनाले त्यसअनुरूपको संरचनाको खोजी सरकारले गरेको हो ।

मुख्यमन्त्री वा प्रदेश मन्त्री हुने सम्भावना भएका जनप्रतिनिधिहरूले छुट्टाछुट्टै भवन रोज्दै त्यस्तै संरचना तय गर्न सचिवरसहसचिवहरूलाई दबाब दिन थालेको गुनासो अधिकारीको छ । कम प्रयोगमा आएका आकर्षक भवनलाई समेत मन्त्रालय बनाउने प्रस्ताव आउने गरेको प्रशासकहरूको भनाइ छ ।

संविधानको धारा १६३ मा प्रत्येक प्रदेशमा नेपाल सरकारको प्रतिनिधिका रूपमा प्रदेश प्रमुख रहने व्यवस्था छ । निर्वाचनको अन्तिम परिणाम घोषणा भएपछिको ३० दिनभित्र प्रदेश प्रमुखले प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ । त्यसका लागि पनि तत्काल अस्थायी मुकाम तय गर्दै स्थायी संरचनाका लागि केन्द्रले प्रस्ताव अघि बढाउनेछ । प्रधानमन्त्री कार्यालयका सचिव त्रय महेन्द्रमान गुरुङ, प्रेमकुमार राई र खगराज बरालले मुकाम तय गर्नेदेखि, नियुक्ति प्रक्रिया, शपथ ग्रहण, कर्मचारीको व्यवस्था लगायतका काम गरिरहेका छन् । उनीहरूले सम्बन्धित क्षेत्रीय प्रशासक, कानुन मन्त्रालयका सचिव, सहरी विकास मन्त्रालयलगायत सबै सम्बद्ध मन्त्रालयसँग सहकार्य गरिरहेका छन् ।

प्रशासन पुनस्संरचना समितिले प्रत्येक प्रदेशमा मुख्यमन्त्रीरप्रदेश परिषद्को कार्यालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय, शिक्षा स्वास्थ्य तथा सामाजिक विकास, कृषि तथा भूमि व्यवस्थापन मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र वन विज्ञान तथा वातावरण मन्त्रालय गरी सात मन्त्रालयको प्रस्ताव गरेको छ । यसको अन्तिम निर्णय मन्त्रिपरिषद्ले गर्नेछ । त्यसमा छलफल नै चलिरहेको अधिकारीहरू बताउँछन् ।

प्रत्येक प्रदेशको आवश्यकताअनुसार मन्त्रालय थपघट गर्ने तथा मन्त्रालय भवन बनाउने विषय केन्द्र सरकारले गर्ने निर्णयमा भरपर्ने हुनाले त्यसमा ध्यान दिएर नै प्रस्ताव तयार रहेको अधिकारीहरूले बताए । हुन त अझै पनि सरकारले प्रदेश राजधानीको निर्णय लिइसकेको छैन । कर्मचारी स्तरबाट प्रस्ताव हुँदा त्यसलाई अहिले अस्थायी मुकाम भनिएको छ । सरकारको खर्चले धान्ने गरी मुख्य मन्त्रीसहित अन्य मन्त्री एकै स्थानमा बस्ने गरी मुकाम तय गर्ने तयारी छ । अहिले भनिए जस्तो प्रदेशका विभिन्न स्थानमा छुट्टाछुट्टै मन्त्रालय नराखिनेसमेत प्रशासकहरूले बताए । प्रदेशले आफ्नो पछि आउने बजेटबाट छुट्टै व्यवस्था भने गर्न सक्नेछन् । अहिले उपलब्ध सबै भवनमा मितव्ययी ढंगले व्यवस्थापन गर्ने तयारी सरकारको छ । क्षेत्रीय प्रशासनकार्यालय र कैयन् अन्य कार्यालय बन्द हुने हुनाले त्यसमा पनि उनीहरूलाई राख्न सकिने अधिकारीहरूले बताए ।

भारतमा मुख्यमन्त्रीसँगै त्यही मन्त्रालयको महाशाखाझैं अन्य मन्त्री रहने व्यवस्था छ । जसले गर्दा समन्वय गर्नसमेत सहयोगी र मितव्ययी रहनेछ । नेपालमा पनि त्यही अनुरूपको संरचना तय गर्दै मितव्ययितामा जोड दिनुपर्ने सुझाव सचिवहरूको छ । पाकिस्तानमा पनि त्यस्तै व्यवस्था छ । प्रदेशमा विजयी भएर आएका सांसदहरूले छुट्टाछुट्टै स्थानमा आफूलाई स्थापित गर्न आग्रह गरिरहेको प्रधानमन्त्री कार्यालय उच्च स्रोतले बतायो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस