सिरुटारमा फुटसल उद्घाटन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सिरुटारमा फुटसल उद्घाटन


१० पुस २०७४, सोमबार


भक्तपुर । सूर्यविनायक नगरपालिका–१ सिरुटारका तीन युवाले ६० लाखको लागतमा निर्माण गरेको फुटसल आजबाट सञ्चालनमा आएको छ ।

कन्ट्रिसाइड रिक्रियसन सेन्टर फुटसलको आज नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महेश बस्नेतले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बस्नेतले अहिलेका युवा वर्गलाई विदेश पलायन, विकृति, विसंगति लाग्नबाट रोक्नु पर्ने बताउँदै विदेश जाने युवाले आफ्नै गाउँमा शुरु गर्ने यस्ता व्यवसायले युवालाई विकृति, विसंगतिमा लाग्नसमेत रोक्ने बताए ।

युवा वर्ग अगाडि बढे आफ्नो ठाउँको विकास गर्न पाँचवर्ष पनि नलाग्ने बताउँदै उनले युवाले गर्ने प्रत्येक विकासका काममा आफ्नो सहयोग रहने बताए ।

कार्यक्रममा नवनिर्वाचित प्रदेशसभाका सदस्य शशिजंग थापाले उपत्यकामा रंगशालाको अभाव खड्किरहेको अवस्थामा फुटसलले केही हदसम्म त्यसको आवश्यकतालाई पूरा गरेको बताए ।

उनले दधिकोटमा रंगशाला बनाउने प्रस्ताव सकारात्मकरुपमा अगाडि बढेको र यसको प्रक्रियालाई सरकारसमक्ष लगिएकाले यसलाई पूरा गर्न सबै पक्षबाट पहल हुनुपर्नेमा जोड दिए ।

त्यस अवसरमा ललितपुरको चाँगाथली युवा क्लबका अध्यक्ष बाबुराजा महर्जनले खेलकुदप्रति युवाको आकर्षण बढ्दै गइरहेको अवस्थामा प्रत्येक प्रदेशमा एउटा रंगशाला आवश्यकता भएकाले यसतर्फ ध्यान दिनुपर्ने भनाइ राखे ।

फुटसल सञ्चालक समितिका अध्यक्ष धनञ्जय श्रेष्ठ युवा वर्गको फुटसलप्रति आकर्षण बढ्दै गएको र युवा वर्गलाई मनोरञ्जन दिन युवाको लगानीमा फुटसल सञ्चालनमा ल्याएको बताए ।

सञ्चालकद्वय सुदीप राउत र रुपक थापाले युवा वर्गको शारीरिक, मानसिक स्वास्थ्यको विकास गर्ने र फुटसल खेलको विकास गर्ने उद्देश्यले फुटसल सञ्चालनमा ल्याएको बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस