प्रदेश १ : बलियो स्रोतसाधन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रदेश १ : बलियो स्रोतसाधन


१० पुस २०७४, सोमबार


विराटनगर । संसारकै अग्लो ठाउँ सगरमाथा र गहिरो स्थान केचना पाएको प्रदेश नम्बर १ मुलुकका अन्य प्रादेशिक संरचनाभन्दा स्रोत–साधन सम्पन छ । नेपालको राजनीतिक बिरासतमा अग्लो कद राखेको प्रदेश नम्बर १ जलविद्युत्, खाद्यान्न, उद्योग, शिक्षा, स्वास्थ्य, पर्यटन र प्राकृतिक स्रोतसाधनले भरिपूर्ण छ ।

यहाँका सहरहरु घना र सुविधासम्पन्न छन् । त्यसैले सबैले प्रदेशको राजधानीका लागि दाबी गरिरहेका छन् । मधेस, पहाड र हिमालसम्म सडक सञ्जाल पुगेको छ । धार्मिक हिसाबले खोटाङको हलेसी, ताप्लेजुङको पाथीभरा र सुनसरीको बराह क्षेत्र चर्चित स्थल पर्दछ । यी तीनै धार्मिक स्थलमा स्वदेशी र विदेशी श्रद्धालुको जहिल्यै भीड लाग्छ ।

भारत र चीनसँग सीमा जोडिएको र बंगलादेशबाट नजिकै रहेको प्रदेश नम्बर १ मा भारत तथा तेस्रो मुलुकमा वस्तुको आयातनिर्यातका लागि सहज नाका छन् । विराटनगरको रानी र झापाको काँकडभिट्टा भन्सार नाकाबाट आयात हुने वस्तुबाट मात्र दैनिक १२ करोड रुपैयाँ राजस्व संकलन हुन्छ । यी दुवै भन्सार नाकाबाट भारत र तेस्रो मुलुक वस्तुको आयातनिर्यात हुन्छ ।

मोरङको विराटनगर, झापाको भद्रपुर, ताप्लेजुङको सुकेटार, भोजपुरको टक्सार, संखुवासभाको तुम्लिङटार, खोटाङका लामीडाँडा, खाँडीडाँडा र खामखर्क, सोलुखुम्बुका नाम्चेसहित चार गरी १३ वटा विमानस्थल छन् । काठमाडौं र विराटनगरबाट यी सबै ठाउँमा हवाई उडान भइरहेको छ ।

अकाशमार्गबाहेक केन्द्रीय राजधानी काठमाडौंसम्म पुग्न पूर्वपश्चिम राजमार्ग, बिपी राजमार्ग र निर्माणाधीन मध्यपहाडी राजमार्ग छन् । धरान–चतरा–उदयपुर हुँदै हेटौंडा जोडिने अर्को वैकल्पिक राजमार्ग निर्माणाधीन छ । प्रदेश नम्बर १ कै सबभन्दा फराकिलो ६ लेनको सडक विराटनगरको रानीदेखि धरानसम्म निर्माण जारी छ । भारतीय नाका रानीदेखि चिनियाँ नाका किमाथान्कासम्म यो निर्माणाधीन सडक सञ्जाल जोड्ने सरकारी तयारी छ । चर्चामा रहेको कोसी नदीको हाइड्याम र निर्माणको सुरसार भइरहेको अरुण तेस्रो जलविद्युत् आयोजनाले प्रदेश नम्बर १ लाई पानी र विद्युत्मा थप शक्तिशाली बनाउने निश्चित छ ।

पूर्वी नेपालको १४ जिल्ला समेटिएको प्रदेश नम्बर १ मा झापा, मोरङ र सुनसरी अन्नभण्डार हुन् । कृषिमा आधुनिकीकरण गरेपछि यी तीन जिल्लामै उत्पादन हुने खाद्यान्नले प्रदेश नम्बर १ आत्मनिर्भर बन्न सक्छ । क्षेत्रीय कृषि निर्देशनालय, विराटनगरका अनुसार प्रदेश १ मा यस वर्ष १२ लाख ४० हजार ५ सय ५० मेट्रिक टन धान उत्पादन भएको छ । निर्देशनालयका सूचना अधिकृत राजेन्द्र उप्रेतीका अनुसार यो तथ्यांकमा बर्खे धानमात्र समेटिएको छ । झापामा कन्काई सिँचाइ आयोजना र मोरङ तथा सुनसरीमा मोरङ–सुनसरी सिँचाइ आयोजना सञ्चालनमा छन् । यी दुवै मुलुकका ठूला आयोजना हुन् ।

प्रदेश १ मा यस वर्ष २ लाख ६० हजार मेट्रिक टन मकै उत्पादन भएको छ । वार्षिक दुई अर्व रुपैयाँभन्दा बढीको तरकारी धनकुटा जिल्लाले मात्रै उत्पादन गर्छ । चिया, अलैंची, अम्रिसो, अदुवा, सुन्तला प्रदेश नम्बर १ का पहाडी जिल्लामा मनग्यै फल्छ । पेट्रोलियम पदार्थको संकेत पाइएपछि मोरङको बाहुनीमा दुईपटक खानी उत्खन्न समेत गरिसकिएको छ । बढी रेमिट्यान्स भित्रिने तराई–मधेसका धनुषा, नवलपरासीपछि प्रदेश नम्बर १ को मोरङ जिल्ला पनि पर्छ । आजको नागरिक दैनिकमा खबर छ

प्रतिक्रिया दिनुहोस