प्रदेश प्रमुख र अस्थायी राजधानी एक साताभित्र « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रदेश प्रमुख र अस्थायी राजधानी एक साताभित्र


८ पुस २०७४, शनिबार


काठमाडौं । सरकारले एक साताभित्र प्रदेश प्रमुख नियुक्त गर्ने भएको छ । निर्वाचन आयोगले प्रदेश सभातर्फ समानुपातिक प्रणालीको मतपरिणाम सार्वजनिक गरिसकेकाले सरकारलाई प्रदेश प्रमुख तोक्न दबाब परेको हो । आयोगले शुक्रबार प्रदेश सभामा समानुपातिकतर्फ दलहरूले पाएको मतपरिणाम सार्वजनिक गरेको छ ।

अब आयोगले सिटका आधारमा विजयी उम्मेदवारको घोषणा गर्नेछ । र, त्यस्तो प्रतिवेदन सात दिनभित्र प्रदेश प्रमुखलाई बुझाउनुपर्ने व्यवस्था छ । तर, अझै पनि प्रदेश प्रमुख नतोकिएकाले सरकारलाई दबाब बढेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले बिहीबारसम्म प्रदेशको राजधानी र प्रमुख नियुक्त भइसक्ने बताए । सरकारले अघिल्लो बिहीबार नै प्रदेशको राजधानी र प्रदेश प्रमुख नियुक्त गर्ने तयारी गरेको थियो ।

तर, अन्य दलहरूसँग सहमति गर्न खोजेकाले ढिला भएको उनले बताए । ‘शुक्रबार सर्वदलीय बैठक राखिएको थियो, सकेसम्म राजनीतिक सहमतिका आधारमा निर्णय गर्न भनेर कुरेको हो, अब सरकारले आफ्नो तरिकाले निर्णय लिन्छ,’ परियारले भने ।

शुक्रबारको बैठकमा प्रदेश प्रमुख नियुक्त गर्ने विषयमा कुनै सहमति हुन नसकेकाले अब सरकारले एक साताभित्र प्रदेश प्रमुख नियुक्त गर्ने उनको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस