कानुनको धज्जी उडाउँदै वायुसेवा निगम « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

कानुनको धज्जी उडाउँदै वायुसेवा निगम


७ पुस २०७४, शुक्रबार


काठमाडौं । नेपाल वायुसेवा निगमका क्याप्टेन रमेशचन्द्र उपाध्यायलाई विदेशबाट जहाज उडाएर काठमाडौं अवतरण गर्नासाथ प्रहरीले पक्राउ ग¥यो । उनको साथबाट केही थान नाडी घडी बरामद भयो । लगत्तै घडी तस्करीको आरोपमा निगमले उनलाई जागीरबाट बर्खास्त गर्यो । यो करिब चार दशकअघिको घटना हो ।

त्यस्तै तीन दशकअघि क्याप्टेन कमलकृष्ण श्रेष्ठ दुबईबाट जहाज लिएर काठमाडौं ओर्लनासाथ प्रहरी फन्दामा परे । उनको साथमा केही ग्राम सुन भेटियो । त्यसपछि सुन तस्करीको आरोपमा उनलाई पनि जागीरबाट बर्खास्त गरियो ।

साढे दुई दशकअघि विदेशबाट जहाज लिएर आएका क्याप्टेन लक्ष्मणदास प्रधानको साथबाट २० हजार अमेरिकी डलर बरामद भयो । लगत्तै निगम व्यवस्थापनले विदेशी मुद्रा तस्करी आरोपमा उनलाई जागीरबाट बर्खास्त ग¥यो । त्यसैगरी एयरहोस्टेस पुष्पलता त्रिखत्री, तुलसा बस्नेतलगायतको साथबाट पनि केही थान घडी भेटिएपछि उनीहरूलाई घडी तस्करीको आरोपमा बर्खास्त गरिएको थियो ।

निगमको ऐनकानुन यथावत छ । तर, त्यसबेला पाइलट र एयरहोस्टेसलाई ठाउँको ठाउँ कारबाही गर्ने निगम अहिले यस्तै प्रकृतिका घटनामा धेरै उदार रूपमा प्रस्तुत भएको पाइएको छ ।

२०७३ चैत २८ गते दुबई उडान भर्न लाग्दा निगमका वरिष्ठ क्याप्टेन सुवर्ण अवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे । नियमित ड््युटीअनुसार जहाज कमान्ड गरेर दुबई जान लागेका अवालेको ब्याग राति करिब ११ बजे विमानस्थल सुरक्षा गार्ड प्रहरीले खानतलासी ग¥यो । ब्यागबाट ९३ हजार ६ सय अमेरिकी डलर बरामद भएपछि उनलाई पक्राउ गरिएको थियो । कानुनअनुसार एक व्यक्तिले २ हजार ५ सय डलरसम्म साथमा लिएर विदेश जान पाउँछ । उड्डयन नियमअनुसार चालकदलले आफूले पाउने भत्ताबाहेक एक पैसा पनि साथमा लिएर जहाज उडाउन पाउँदैन ।

उनै क्याप्टेन अवालेलाई निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारको जोडबलमा सरकारले उडान लाइसेन्स अद्यावधिक गर्न तालिममा पठाउने अनुमति दिएको छ । अवाले शुक्रबार ९पुस ७ गते० राति साढे ११ बजे निगमकै जहाजबाट मलेसिया हुँदै सिंगापुर जाँदैछन् । उनले त्यहाँ करिब दुई साता बिताउने छन् । यसअघि भदौ ८ मा पनि अवालेलाई सिंगापुर पठाउने कंसाकारको निर्णयसम्बन्धी समाचार नागरिकले प्रकाशित गरेपछि कार्यान्वयन हुनबाट रोकिएको थियो ।

अर्को अचम्म के हो भने भदौ ८ गते अवालेलाई सिंगापुर जान जुन निकायले रोकेका थिए, अहिले तिनै निकायले आँखा चिम्लिएर बाटो खुला गरिदिएका छन् । राजस्व अनुसन्धान विभाग, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल वायुसेवा निगम सञ्चालक समिति र नेपाल नागरिक उड्डयन प्राधिकरणले फौजदारी अभियोग लागेका क्याप्टेन अवालेलाई उनको उडान लाइसेन्स अद्यावधिक गर्न सिंगापुर तालिममा पठाउने अनुमति दिएका हुन् । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस