प्रदेश राजधानीमा सरुवा हुन निवेदनको ओइरो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रदेश राजधानीमा सरुवा हुन निवेदनको ओइरो


७ पुस २०७४, शुक्रबार


काठमाडौं । स्थानीय तहमा जान अस्वीकार गरेका निजामती कर्मचारीले प्रदेश राजधानीमा सरुवाका लागि सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिन थालेका छन् । सरकारले प्रदेशको अस्थायी मुकाम तोक्ने गृहकार्य अघि बढाएपछि सामान्यले आवश्यक पर्न सक्ने कर्मचारीको सूची तयार गर्दै छ । सामान्यको अतिरिक्त समूहमा बसेका र स्थानीय विकास मन्त्रालयमा गरिएको सरुवा रद्द गरेर बसेका कर्मचारीले आफ्नो अनुकूलका प्रदेश राजधानीमा सरुवा गरिदिन निवेदन दिएका हुन् ।

सरकारले हरेक प्रदेशका ठूलामध्येका सहरलाई प्रदेश राजधानीको रूपमा प्रस्ताव गरेको छ । सुरुमै सरुवा हुन सके समायोजनमा त्यहीँ बस्न पाइने आशामा कर्मचारीहरू प्रदेश राजधानीका कार्यालयमा सरुवा हुन चाहेका हुन् । सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले प्रदेशको राजधानी घोषणा भएपछि स्थापना हुने कार्यालयमा खटाइदिन माग गर्दै उपसचिवदेखि खरदारसम्मका कर्मचारीले निवेदन दिएको बताए । उनीहरूले प्रदेशका मन्त्रालयमा बसेर काम गर्ने रुचि देखाएका छन् ।

गत असोजमा सामान्यले करिब १६ सय कर्मचारीलाई स्थानीय तहमा सरुवा गरेको थियो । तत्कालीन सचिव मोहनकृष्ण सापकोटाले ४३ उपसचिवको सरुवा रद्द गरिदिएका थिए । केही अधिकृत, सुब्बा र खरदार तहका कर्मचारीको पनि स्थानीय तहका लागि भएको सरुवा रद्द भएको थियो । पहिले सरुवा रद्द भएका कर्मचारीले प्रदेश कार्यालयमा खटाइपाऊँ भन्दै निवेदन दिएका हुन् । सामान्यले उपसचिव तहमा ११७ कर्मचारीलाई स्थानीय तहमा खटाएको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस