साढे ३ अर्बमा दुई हेलिकप्टर किन्दै सेना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

साढे ३ अर्बमा दुई हेलिकप्टर किन्दै सेना


६ पुस २०७४, बिहिबार


नेपाली सेना

काठमाडौं । अर्थ मन्त्रालयले एउटा हेलिकप्टर र दुईवटा जहाज खरिद गर्न नेपाली सेनालाई रकम निकासा गरेको महिना दिन बित्न नपाउँदै सेनाले थप दुई एमआई–१७ भी–५ हेलिकप्टर खरिद प्रक्रिया अघि बढाएको छ ।

रुसको कजान हेलिकप्टरले उत्पादन गर्ने एमआई–१७ भी–५ हेलिकप्टर खरिद गर्न सेनाले रक्षा मन्त्रालयमा प्रस्ताव पठाइसकेको छ ।

‘मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि रुसको सरकारी स्वामित्वको रोसोबोरोनेक्सपोर्टसँग दुईवटा एमआई–१७ भी–५ हेलिकप्टर खरिद सम्झौता हुन्छ,’ जंगी अड्डा स्रोतले नागरिकलाई जानकारी दियो ।

मन्त्रिपरिषद् बैठकले दुईवटा ट्रेनर जहाज खरिद गर्न गत भदौ २३ गते नेपाली सेनालाई ८ करोड ५६ लाख ३८ हजार ९ सय ९५ रुपैयाँ दिने निर्णय गरेको थियो । यसअघि दुईवटा जहाज खरिद गर्न सरकारले बजेटमै ३७ करोड रुपैयाँ छुट्याएको थियो । बजेटमा व्यवस्था गरेको रकम अपुग भएको भन्दै सेनाले थप रकम मागेपछि अर्थले गत कात्तिकमा उक्त रकम सेनालाई निकासा गरिदिएको थियो । सैनिक तालिमका लागि भन्दै अर्थले जहाज किन्न सेनालाई रकम निकासा गरेको हो ।

गत असोजमा पनि अर्थले नेपाली सेनालाई एउटा हेलिकप्टर खरिद गर्न रकम निकासा गरेको थियो । असोज १८ गते अर्थ मन्त्रालयले नेपाली सेनाको विपद् व्यवस्थापन क्षमता अभिवृद्धिका लागि ‘लाइट हेलिकप्टर’ खरिद गर्न ४१ करोड ८० लाख रुपैयाँ रकमान्तर निकासा गरेको थियो । अहिले फेरि सेनाले दुईवटा एमआई–१७ भी–५ हेलिकप्टर खरिद प्रक्रिया अघि बढाएको छ ।

‘जंगी अड्डा (सेना) ले एमआई–१७ हेलिकप्टर किन्ने भनेको छ, तर मैले प्रस्ताव पाएको छैन,’ रक्षामन्त्री भीमसेनदास प्रधानले भने, ‘हेलिकप्टर खरिद गर्दा विक्रेतालाई पैसा पठाउन कठिन छ । छलफलका लागि रुसी टिम नेपाल आउँदैछ । उनीहरूसँग पैसा कसरी पठाउने भन्ने विषयमा छलफल हुन्छ, त्यसपछि टुंगोमा पुगिन्छ ।’

मन्त्री प्रधानले ‘जिटुजी’ (गर्भमेन्ट टु गर्भमेन्ट) प्रक्रियामार्फत रुससँग दुई थान एमआई–१७ हेलिकप्टर खरिद गर्न लागेको बताए । अमेरिकाले रुसी सरकारी स्वामित्वमा रहेको हेलिकप्टर विक्रेता एजेन्सी रोसोबोरोनेक्सपोर्टमाथि प्रतिबन्ध लगाएका कारण रकम भुक्तानी गर्न कठिनाइ हुनसक्ने भन्दै छलफलका लागि रुसी टिम बोलाइएको उनले बताए । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस