निर्वाचन परिणामबारे समीक्षा गर्न कांग्रेस सातै प्रदेशमा भेला गर्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निर्वाचन परिणामबारे समीक्षा गर्न कांग्रेस सातै प्रदेशमा भेला गर्ने


५ पुस २०७४, बुधबार


काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा पार्टीको पक्षमा आएको परिणामबारे समीक्षा गर्न सातै प्रदेशमा रणनीतिक भेला गर्ने भएको छ ।

पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाको आज बानेश्वरमा बसेको बैठकले पार्टीको पक्षमा सोचेजस्तो मत परिणाम नआएको भन्दै यसका बारेमा पार्टीभित्र गम्भीर छलफल गर्नुपर्ने बताएको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले पार्टी पराजयबारे वडा समितिबाटै बहस चलाउनु आवश्यक रहेको बताए । ‘पार्टीको पराजयबारे वडा इकाई समितिदेखि केन्द्रीय तहका नेतासम्मले आत्मालोचना गर्नुपर्छ,’ उनले भने ।

बैठकले कांग्रेस नेतृत्वको वर्तमान सरकारले संविधान कार्यान्वयनका लागि महत्वपूर्ण आधारका रुपमा लिइएको निर्वाचन सम्पन्न गराएको भन्दै सरकारलाई धन्यवाद व्यक्त गरेको छ ।

नेपाल महिला संघका अध्यक्ष उमा रेग्मीले पार्टीले निर्वाचनमा ल्याएको नतिजाबारे महासमितिको बैठक बोलाएर छलफल हुनुपर्ने बताइन् । ‘कांग्रेसले निर्वाचन हारे पनि मुद्दामा भने जितेको छ’ उनले भनिन् ।

नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले पार्टीलाई बलियो बनाउन संगठनलाई नयाँ ढंगले अगाडि बढाउन आवश्यक रहेको बताए । पार्टी बलियो बन्न गाउँदेखि केन्द्रसम्म संगठन बलियो हुनुपर्ने उनको भनाइ थियो ।

बैठकले सरकारले राष्ट्रपतिसमक्ष बुझाएको अध्यादेश यथाशीघ्र प्रमाणीकरण गर्न राष्ट्रपतिलाई आग्रहसमेत गरेको छ । बैठकमा नेपाली कांग्रेसका विभिन्न भ्रातृ संस्थाका अध्यक्ष तथा प्रतिनिधिको सहभागिता रहेको थियो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस