नियमावली नबन्दा कर्मचारी समायोजन प्रभावित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नियमावली नबन्दा कर्मचारी समायोजन प्रभावित


५ पुस २०७४, बुधबार


काठमाडौं । कर्मचारी समायोजन नियमावली स्वीकृत हुन नसक्दा कर्मचारी समायोजन प्रक्रिया सुस्ताएको छ । नियमावली नहुँदा कर्मचारी समायोजनसँग सम्बन्धित सबै काम रोकिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

कर्मचारी समायोजनपूर्व स्थानीय तह र प्रदेशमा कुन–कुन कार्यालय रहने र ती कार्यालयका कस्ता संरचनामा कति कर्मचारी चाहिने भन्ने टुंगो लगाउन कर्मचारी समायोजन नियमावली आवश्यक हुन्छ । कर्मचारी दरबन्दी सर्वेक्षणका लागि समिति गठन गर्न नियमावली चाहिने भएकाले सबै काम रोकिएको मन्त्रालयको भनाइ छ ।

नियमावली नहुँदा दरबन्दी सर्वेक्षण समिति बन्न नसकेको मन्त्रालयका एक उपसचिवले बताए । नियमावलीको मस्यौदा अर्थ मन्त्रालयको सहमतिपछि कानुन मन्त्रालयमा पठाइएको छ ।

नियमावली नभए पनि कर्मचारी समायोजनका लागि गर्न सकिने पूर्वतयारीका काम भने भइरहेको सामान्य मन्त्रालयले जनाएको छ ।

‘दरबन्दी सर्भेक्षणका लागि समिति बनाउनुपर्ने हुन्छ, समिति बनाउन नियमावली चाहिन्छ, तर नियमावली नभएकाले दरबन्दी सर्भेक्षणको काम अघि बढ्न सकेको छैन,’ ती उपसचिवले भने, ‘तर पनि मन्त्रालयले कर्मचारीको विवरण संकलन गर्ने, समायोजनका लागि सफ्टवेयर निर्माण गर्ने काम भने गरिरहेको छ ।’ उनले कर्मचारीहरूको विवरण संकलनका लागि सबै मन्त्रालयलाई पत्राचार गरिसकेको जानकारी दिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस