सरकारले संवैधानिक विधिबाट चाँडो सत्ता हस्तान्तरण गर्न खोजेको छ– मन्त्री बस्नेत « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सरकारले संवैधानिक विधिबाट चाँडो सत्ता हस्तान्तरण गर्न खोजेको छ– मन्त्री बस्नेत


४ पुस २०७४, मंगलबार


काठमाडौं । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेश स्वीकृत गरेर सत्ता हस्तान्तरण प्रक्रियालाई सहजीकरण गरिदिन आग्रह गरेका छन् ।

निर्वाचन सम्पन्न भएपछि विकसित राजनीतिक घटनाक्रमका बारेमा सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले राष्ट्रपति भण्डारीलाई अध्यादेश स्वीकृत गरेर छिटोछरितो कार्यसम्पादनसहित सत्ता हस्तान्तरण प्रक्रियालाई सहजीकरण गर्न आग्रह गरे । ‘अध्यादेश राष्ट्रपति कार्यालयमा रोकिनु सबैका लागि अत्यन्तै चिन्ताको विषय हो, उनले भने।

बस्नेतले भने– ‘केही दलले प्रत्यक्षतर्फको परिणाम आउनासाथ अहंकारका साथ सत्ता नै कब्जा गर्ने खालको प्रयास गरिरहेका छन् ।

निर्वाचन आयोगबाट कानुनी प्रक्रिया अनुसार कार्य भइरहे पनि केही दलका नेताहरुको आयोगप्रति लाल्छनापूर्ण अभिव्यक्ति आउनु अशोभनीय काम भएको मन्त्री बस्नेतले टिप्पणी गरे । उनले निर्वाचन आयोगले कानुनअनुसारका सबै निर्वाचन सम्पन्न गरेको जानकारी दिन बाँकी नै रहेको पनि स्मरण गराए ।

सरकार सहज ढंगबाट सत्ता हस्तान्तरणका लागि वैधानिक उपायको खोजी गरिरहेको बताउँदै मन्त्री बस्नेतले भने, ‘सरकारले संवैधानिक विधिबाट चाँडोभन्दा चाँडो सत्ता हस्तान्तरण गर्न खोजेको छ । तर हामी संविधानको भावना र मर्मत विपरित कुनैपनि काम हुन दिने पक्षमा छैनौं ।’

प्रतिक्रिया दिनुहोस