संघीय संरचनाअनुरूप राष्ट्रिय स्वास्थ्य नीति तयार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

संघीय संरचनाअनुरूप राष्ट्रिय स्वास्थ्य नीति तयार


३ पुस २०७४, सोमबार


डाक्टर

काठमाडौं । स्वास्थ्य मन्त्रालयले संघीय संरचनाअनुरूप विद्यमान स्वास्थ्य नीति परिमार्जन गर्दै नयाँ स्वास्थ्य नीति तयार पारेको छ । राष्ट्रिय स्वास्थ्य नीति, २०७१ संघीय संरचनाअनुसार नभएको भन्दै नयाँ स्वास्थ्य नीति तयार गरिएको हो । स्वास्थ्य मन्त्रालय योजना महाशाखा प्रमुख डा. श्रीकृष्ण गिरीले राष्ट्रिय स्वास्थ्य नीति, २०७४ को मस्यौदा तयार भएको जानकारी दिए ।

मस्यौदाले अन्तिम रूप लिएपछि राष्ट्रिय स्वास्थ्य नीति, २०७१ खारेज गरिएको छ । स्वास्थ्य क्षेत्रमा भएका उपलब्धिलाई संस्थागत गर्दै संघीय संरचना, अधिकार क्षेत्र तथा दायित्वअनुरूप स्वास्थ्य सेवाको विकास र विस्तारका लागि नयाँ स्वास्थ्य नीतिको आवश्यकता परेको उनले बताए ।

स्वास्थ्य विज्ञहरूको छलफलपछि समितिले आइतबार मस्यौदालाई अन्तिम रूप दिएर स्वास्थ्यमन्त्री दीपक बोहरालाई बुझाएको छ । मन्त्रालयका अनुसार नेपालले सहश्राब्दी विकास लक्ष्य ४ र ५ मा प्राप्त गरेको सफलतालाई कायम राख्दै स्वास्थ्यसम्बन्धी दिगो विकासको लक्ष्य हासिल गर्न नयाँ नीति अनिवार्य भएको हो । नेपालको संविधान, संघीयता र गुणस्तरीय स्वास्थ्य सेवामा सर्वव्यापी पहुँचबाट राष्ट्रिय स्वास्थ्य नीति निर्देशित रहेको गिरीले बताए ।

मन्त्रालयका अनुसार राष्ट्रिय स्वास्थ्य नीतिलाई संघीय संरचनाअनुरूप स्वास्थ्य मन्त्रालय, मन्त्रालयअन्तर्गतका केन्द्र, प्रदेश, जिल्ला र स्थानीयस्तरमा विद्यमान संरचनाका साथै स्वास्थ्यसँग सम्बन्धित स्वायत्त एवं अर्धस्वायत्त निकायहरूको संवैधानिक र नीतिगत प्रावधानअनुसार पुनः परिभाषित गरी लागू गरिनेछ । नयाँ संघीय संरचनाबमोजिम आवश्यक कर्मचारीको दरबन्दी सिर्जना गरी संस्थागत क्षमता सुदृढ गरिने मस्यौदामा उल्लेख छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस