काठमाडौं । गत १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत प्रत्यक्षमा नराम्रोसँग पराजय भोगेको कांग्रेसले समानुपातिकमा भने सकारात्मक ‘पोजिसन’ बनाएको छ।
प्रत्यक्षमा प्रतिनिधिसभातर्फ ८० र प्रदेशसभातर्फ १ सय ६८ स्थान जितेको एमालेले समानुपातिकमा ३१ लाख ७३ हजार ४ सय ९५ मत पाएको छ भने प्रत्यक्षतर्फ प्रतिनिधिसभामा २३ र प्रदेशसभामा ४१ सिट जितेको कांग्रेसले समानुपातिकमा ३१ लाख तीन हजार ७ सय २१ मत ल्याएको छ। कांग्रेसले एमालेलेभन्दा ४५ हजार १ सय ५ मत मात्रै कम पाएको हो । समानुपातिक मत परिणामअनुसार एमालेले ४१ र कांग्रेसले ४० स्थान प्राप्त गर्नसक्ने देखिएको छ ।
एमालेले प्रत्यक्षतर्फ कांग्रेसभन्दा प्रतिनिधिसभामा ५७, प्रदेशसभामा १२७ र समानुपातिकमा एक सिट बढी पाउने भएको छ । पपुलर मतमा कांग्रेस–एमाले हाराहारीकै अवस्थामा रहेको समानुपातिक परिणामले देखाएको छ ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीको पदप्राप्ति र त्यसलाई जोगाउने कार्यले पार्टी जोगिन नसकेको बताए । ‘कांग्रेसलाई मतदान गर्नेको संख्या बढ्यो, मत बढ्यो र कांग्रेस सकिएको छैन भन्ने सन्देश जनता जनार्दनबाटै प्राप्त भयो’, पौडेलले भने, ‘तर प्रधानमन्त्रीको पदकै लागि मरिहत्ते गर्दा प्रत्यक्षतर्फ पार्टी जोगिएन ।’
कांग्रेस किनारा लागेको नभई आन्तरिक व्यवस्थापन र वैचारिकताको कार्यान्वयनका कारण प्रत्यक्षतर्फ असफल भएको उनले बताए । प्रत्यक्षमा भएको पराजयको जिम्मेवारी कसले लिनुपर्छ भन्ने जिज्ञासामा पौडेलले भने, ‘यसको जिम्मेवारी नेतृत्वले लिनुपर्छ, त्यसमा म पनि पर्छु ।’ कांग्रेसलाई अबका दिनमा बचाउन कांग्रेसी भन्नेहरूको त्याग र बलिदानीपूर्ण सहभागिता अपरिहार्य रहेकोमा उनले जोड दिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।







