फेसबुकमार्फत बाउन्न लाख ठगी गर्ने व्यक्ति पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

फेसबुकमार्फत बाउन्न लाख ठगी गर्ने व्यक्ति पक्राउ


२८ मंसिर २०७४, बिहिबार


काठमाडौं । महानगरीय अपराध महाशाखाले पटक–पटक फेसबुकमार्फत ५२ लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

महाशाखाबाट खटिएको टोलीले फेसबुकमार्फत सम्पर्क बढाई २१ लाख ठगी गर्ने सिन्धुपाल्चोकका तुलबहादुर तामाङलाई आइतबार सिन्धुपाल्चोकबाट पक्राउ गरी आज काठमाडौंमा सार्वजनिक गरेको हो ।

तामाङले संखुवासभाकी मनकला गुरुङसँग फेसबुकमार्फत सम्पर्क बढाई विवाहसमेत गरेको भनी मनकलाको नातेदार राजेश गुरुङ र कैलाश गुरुङलाई युएस आर्मीमा जागिर लगाइदिन्छु भनी २१ लाख ठगी गरेका थिए ।

तामाङले यसअघि फेसबुकमार्फत साथी बनाई लेबनानमा रहेकी सिन्धुपाल्चोककी सिर्जना दोङसँग (डिपेन्डेन्ट भिसा) आश्रित प्रवेशाज्ञामा अमेरिका लैजाने भनी नौ लाख, सञ्जय दोङ, मिम लामा र कुशुम लामालाई क्यानडा लैजाने भनी २२ लाख ठगी गरेका थिए ।

तामाङले उक्त ठगी मुद्दामा वि.सं. २०७३ साउन महिनामा पक्राउ गरी कारबाही भएकामा केही समय थुनामा बसी धरौटीमा छुटेपश्चात् पुनःठगी धन्दा शुरु गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस