६७ प्रतिशत मत खस्यो : सबैभन्दा बढी गुल्मीमा ७१ प्रतिशत मतदान « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

६७ प्रतिशत मत खस्यो : सबैभन्दा बढी गुल्मीमा ७१ प्रतिशत मतदान


२२ मंसिर २०७४, शुक्रबार


काठमाडौं । बिहीबार ४५ जिल्लामा सम्पन्न चुनावमा ६७ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका अनुसार यो आँकडा प्रारम्भिक हो । यो प्रतिशत बढ्न सक्ने आयोगको भनाइ छ। यो पहिलो चरण अर्थात् मंसिर १० गते सम्पन्न निर्वाचनभन्दा केही प्रतिशत बढी हो । आयोगका अनुसार सबैभन्दा बढी गुल्मीमा ७१ प्रतिशत मतदान भएको छ ।

संघ र प्रदेशको दोस्रो चरण चुनावअन्तर्गत राजधानीसहित पहाड र तराईका ४५ जिल्लामा मतदान भएको हो । प्रतिनिधिसभा सदस्यतर्फ १२८ र प्रदेशसभातर्फ २५६ गरी जम्मा ३८४ निर्वाचन क्षेत्रमा मतदान सम्पन्न भएको छ । ती निर्वाचन क्षेत्रका लागि १५ हजार ३४४ मतदान केन्द्रमार्फत बिहान ७ बजेदेखि साँझ पाँच बजेसम्म भोट हाल्ने व्यवस्था मिलाइए पनि मतदान केन्द्र प्रवेश गरेका मतदाताले साँझसम्म मतदान कार्यमा सहभागी थिए ।

मंसिर १० गते ३२ जिल्लाका प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ क्षेत्रमा भएको मतदानमा ६५ प्रतिशत मत खसेको थियो । निर्वाचनबाट संविधान कार्यान्वयन गर्न र संक्रमणकाल अन्त्यका लागि महत्वपूर्ण योगदान पुगेको विश्वास आयोगले लिएको प्रमुख निर्वाचन आयुक्त यादवले बिहीबार साँझ आयोगमै आयोजित पत्रकार सम्मेलनमा बताए । ‘निर्वाचनमार्फत अब मुलुक संघीयता कार्यान्वयन तहमा पुगेको छ ।’ सातवटै प्रदेश र ७७ वटै जिल्लामा सफलतापूर्वक निर्वाचन सम्पन्न गर्न सुरक्षाकर्मी कर्मचारी तथा सबै मतदाताप्रति आयोग आभार प्रकट गर्दछ’, उनले भने । आयोगका सचिव बेगेन्द्रराज शर्माले तीन चरणको निर्वाचन सम्पन्न गरेर आयोगले संवैधानिक दायित्व पूरा गरेको बताए ।

मतदानका लागि बिहान ७ बजेअगाडि नै मतदाता लामबद्ध भएर बसेका थिए। चिसोको कारण धेरैजसो वृद्धवृद्धा भने दिउँसो मात्रै मतदानस्थल पुगेका थिए । आयोगले मतदानस्थल व्यवस्थित बनाएको थियो। महिला–पुरुषका लागि छुट्टाछुट्टै लाम व्यवस्था गरिएको थियो। समानुपातिकतर्फ दुई छाप लगाउनुपर्ने भएकाले मतदाता केही अलमलमा परेको देखिन्थ्यो । मतदान केन्द्रमा प्रवेश गरेपछि मत खसालेर निस्कन एक जनालाई १० मिनेटसम्म लागेको थियो ।

अपांगता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्ने व्यवस्था मिलाइएको थियो । दृष्टिविहीन वा शारीरिक अशक्तता भएका मतदातालाई पनि मताधिकार प्रयोग गर्र्ने व्यवस्था गरिएको थियो । मतदान स्थलमा तीन तहको सुरक्षा घेराले सुरक्षा दिएको थियो। राजधानीलगायत विभिन्न जिल्लामा केही झडप तथा विस्फोटनका घटना भए पनि निर्वाचन शान्तिपूर्ण रूपमै सम्पन्न भएको छ ।

बिहीबारको मतदानमा १५२ जना तेस्रोलिंगीसहित १ करोड २२ लाख ३५ हजार ९९३ जना मतदाता मताधिकार प्रयोग गर्ने विश्वास आयोगले लिएको थियो । तर, युवाको सहभागिता कम भएकाले यसपटक मतदान कम भएको अनुमान गरिएको छ। मुख्य निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनमा पनि उत्साहजनक रूपमा मतदाताले सहभागिता जनाएको बताए । निर्वाचनका लागि सरकारले गरेको सुरक्षा प्रबन्ध प्रभावकारी भएका कारण पनि निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रमुख आयुक्त यादवले पत्रकार सम्मेलनमा जानकारी दिए ।

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ५ मथुरा निम्न माध्यमिक विद्यालय नेटा मतदान स्थलका (क) र (ख) गरी दुईवटा केन्द्रको मतदान स्थगन भएको । मतदान केन्द्र (ख) का मतदान अधिकृतले मतपत्रमा सही नगरेको भनी कांग्रेस कार्यकर्ताले एउटा मतपेटिका तोडफोड गरी फालेको र बाँकी मतपत्र च्यातेकाले उक्त केन्द्रको मतदान कार्य स्थगन भएको हो। सो मतदान केन्द्रमा केही दिनभित्रै पुनः मतदान गर्ने व्यवस्था मिलाएको आयोगको भनाइ छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस