सेना र प्रहरीले घेरा हालेको ‘बम’ बाँदरद्वारा डिस्पोज « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सेना र प्रहरीले घेरा हालेको ‘बम’ बाँदरद्वारा डिस्पोज


२१ मंसिर २०७४, बिहिबार


काठमाडौं । धरान बजारको सडकमा राखिएको बम मंगलबार राति एकाएक बाँदरले बोकेर हिडेपछि प्रहरी हेडक्वार्टरसम्म हल्लीखल्ली भयो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी विद्यानन्द माझीका अनुसार धरान बजारस्थित सानिमा बैंकको शाखा कार्यालयनजिकै राति १० बजे शंकास्पद बस्तु देखेपछि बम हुन सक्ने आशंकामा सर्वसाधारणले प्रहरीलाई खबर गरेका थिए ।

केही मिनेटमै इलाका प्रहरी कार्यालय धरानको टोली घटनास्थल पुग्यो । शांकस्पद वस्तुमा ‘प्लिक प्लिक’ गर्दै रातो बत्ती बलिरहेको थियो । टाइम बमजस्तो लगेपछि प्रहरीले घटनास्थल सिल गर्यो । बम डिस्पोजका लागि सेनाको टोली पनि बोलाइयो ।

राति भइसकेकाले सैनिक टोली आउन केही ढिलाई भयो । त्यस वेलासम्मम घटनास्थललाई प्रहरीले कडा सुरक्षासाथ घेरामा राख्यो । रातको करिब ११ बजे प्रहरीको सुरक्षा घेरा तोड्दै एउटा बाँदर प्रवेश गर्यो । आत्तिएको बाँदर बम भएतिर अघि बढ्यो । सुरक्षाकमीले धपाउन खोजे । तर, बाँदरले बम भनिएको शंकास्पद बस्तु टिप्यो र भाग्यो । बम लिएर बाँदर सर्वसाधारणको घर धुरी छतमा कुद्न थालेपछि त्रास फैलियो । गोली हन्न प्रहरीलाई माथिको आदेश चाहिने भयो । फिल्डमा खटिएका प्रहरीले सुनसरीस्थित जिल्ला प्रहरीसँग आदेश माग्यो । गोली हानेर नियन्त्रणमा लिँदा पनि बम पड्किन सक्ने भएकाले जिल्ला प्रहरी कार्यालयले निर्णय लिन सकेन । घटना अब विराटनगरस्थित प्रहरीको प्रदेश हेडक्वार्टरमा रिपोर्टिङ भयो । तर, प्रदेश हेडक्वार्टरले पनि गोली हान्ने आदेश दिन सकेन । त्यसपछि प्रदेश हेडक्वार्टरले प्रहरी प्रधान कार्यालय नक्सालमा रिपोर्टिङ गर्यो । घटना सुनेर हेडक्वार्टर पनि तरंगित भयो

हेडक्वार्टरले तत्काल निर्णय दिन नसकिरहेका वेला धरानमा भने बाँदर र प्रहरीको लुकामारी चल्दै थियो । करिब दुई घण्टाको लुकामारीपछि शंकास्पद बस्तु पोको पारिएको कागज च्यातेर बाँदर बेपत्ता भयो । होसियारीकासाथ सुरक्षाकर्मी शंकास्पद बस्तुनजिकै पुगे । प्रहरीले ‘प्लिक प्लिक’ बलेको शंकास्पद बस्तु लौरोले घोचे । र फेला पर्यो ‘मलाई नागरिकता चाहिन्छ’ लेखिएको एउटा सेतो कार्ड ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस