मतदाता शिक्षा ‘कमजोर’ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मतदाता शिक्षा ‘कमजोर’


१९ मंसिर २०७४, मंगलबार


काठमाडौं । ‘चाची, आहा सब भोट गिराब त जाइछिय नै,’ जनकपुर उपमहानगरपालिका–२१ कुर्थाटोलको चौरमा स्वयंसेविका जानकीकुमारी नायक आइतबार मतदाता शिक्षा दिइरहेकी थिइन् । साथमा थिइन्, अर्की स्वयंसेविका प्रमिला महतो । स्थानीय वृद्धा ध्यानपूर्वक मतदान गर्ने तरिका सिकिरहेका थिए ।

दुई स्वयंसेविकाले मतदातालाई तीनवटा मतपत्रमा चार ठाउँमा ‘भोट गिराउने’ बारे बताए । रातो रङको मतपत्र रातै बाकस, हरियो हरियोमै र कालो कालो रङको बाकसमै खसाउने तरिका सिकाए । ती दुवै स्वयंसेविकालाई हामीले ती मत्रपत्रको भिन्नताबारे सोध्यौं । उनीहरूले नधकाई भने, ‘थाहा छैन ।’

कात्तिक २५ बाट मतदाता शिक्षा कार्यक्रममा परिचालन गर्नुअघि जिल्ला निर्वाचन कार्यालयले एक दिन स्वयंसेवक तालिम दिएको थियो । ‘निर्वाचनको तालिम दुई दिन दिनुपर्ने, एक दिनमै सके । झोलासोला, पेपर, पैसाउइसा सबै बाँडेर समय खेर गयो । १० देखि ५ बजेसम्म केही सिक्नै पाइएन,’ राजर्षिजनक उच्च माविकी बालविकास शिक्षिका नायकले भनिन्, ‘५०–६० जनालाई तालिम दिएको थियो । धेरै कुरा राम्ररी सुनिएन । मनमा लागेको कुरा सोध्न पनि पाइएन ।’

सिकेको कुरो सिकाउन पनि उनीहरूलाई सहज थिएन । पुरुष मतदाता महिलासँग सिक्नै चाहिरहेका थिएनन् । ‘हामीलाई थाहा छ, सिकाउनुपर्दैन भनेर उहाँहरू पन्छिनुहुन्छ, महिला मात्र भेला हुनुहुन्छ,’ नायकले सुनाइन्, ‘कतिले त पार्टीबाट आएको, जाऊ भन्दै गाली गर्छ । होइन, काका म यहीं गाउँको हो । फलानाको बुहारी हो, फलानाको श्रीमती भनेर सम्झाउँछौं । तिमीहरूले ढेउवा (पैसा) खाइरहेका छौ, म किन भोट खसाउने, के दिन्छौ पनि भन्छ ।’

जिल्ला निर्वाचन कार्यालय, धनुषाकी प्रमुख पुष्पाकुमारी झाले पनि तालिम छोटो भएकाले स्वयंसेवकहरूको सिकाइ प्रभावकारी नभएको स्विकारिन् । ‘हो, वास्तवमा दुई दिन तालिम दिनुपथ्र्यो । एक दिनले पुगेन,’ उनले भनिन्, ‘फेरि जति बेला तालिम दिइयो, दुइटा मतपत्रको निर्णय भएको थियो । पछि तीनवटा बनाइयो । त्यसले पनि स्वयंसेवकहरूलाई

अप्ठ्यारो पार्‍यो ।’ तर पनि विभिन्न माध्यमबाट मतदातालाई जागरुक बनाउन निर्वाचन आयोग लागिपरेको उनले जानकारी दिइन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस