धनुषा निर्वाचन क्षेत्र ३, जेलबाटै चुनावी चलखेल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

धनुषा निर्वाचन क्षेत्र ३, जेलबाटै चुनावी चलखेल


१७ मंसिर २०७४, आइतबार


सिरहा । धनुषा निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार बनेका राष्ट्रिय जनता पार्टी अध्यक्षमण्डल सदस्य राजेन्द्र महतो र नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिबीचको चुनावी टक्कर देशमै चर्चाको विषय बनेको छ । यो टक्करमा जित कसको हुन्छ भन्ने प्रश्नले नेपाली राजनीतिको बजार तताएको छ ।

निधि–महतो भिडन्तमा जेलमा रहेका सञ्जय साह ‘टक्ला’ को प्रवेशले झन् रोचक बनाइदिएको छ । यो निर्वाचन क्षेत्रमा जनकपुर उपमहानगरपालिकाका २५ वडामध्ये १७ वटा, नगराइन नगरपालिका, विदेह नगरपालिकाको ९ नम्बर वडा तथा मुखियापट्टी मुसरनिया र धनौजी गाउँपालिका पर्छन् । यहाँ वैश्य समुदायको बाहुल्य छ । यो समुदायमा तेली, सुडी, कानू, कलवार, रौनियार, कसेरा, कथवनिया, सुनार, लहेरी, ठठेरीलगायत जात पर्छन् ।

असोजमा सम्पन्न स्थानीय तह चुनावमा जनकपुर उपमहानगरपालिका मेयरमा राजपाका लालकिशोर साहले करिब ११ हजार मतान्तरमा जित हासिल गरेका थिए । यो जितमा जातीय मत निर्णायक थियो । साहको जितबाट हौसिएर महतो धनुषा ३ बाट उम्मेदवार बनेका छन् । महतोलाई मेयर साहले बल दिइरहेका छन् । वैश्य समुदायको जातीय मत विभाजन नभए यही मत यो क्षेत्रका उम्मेदवारका लागि जितको प्रमुख कारण बन्ने स्थानीय विश्लेषक बताउँछन् । वैश्य (सुडी, कलवार, तेली) समुदायको मत विभाजन गरेर महतोलाई कमजोर बनाउन विभिन्न अपराध मुद्दामा पुर्पक्षका लागि जेलमा रहेका सञ्जय साह प्रयोग भएका छन् । उनले जेलबाटै मत प्रभावित गर्ने खेल सुरु गरेका छन् ।

साहले जेलबाटै महतोलाई मतदान नगर्न अभियान थालेका छन् । कांग्रेस उम्मेदवार निधिलाई कडा टक्कर दिइरहेका महतोलाई मतदान नगर्न भन्दै साहले सिरहा कारागारबाट ‘रेडियो अन्तर्वार्ता’ समेत दिएका छन् । उनले फोनमार्फत मतदातालाई महतोको पक्षमा मतदान नगर्न भनिरहेका छन् ।

साहले जेलबाटै फोन गरेर सञ्चारकर्मीलाई समेत प्रभावित पारिरहेका छन् । फोन गरेर सञ्चारकर्मीलाई उनले महतोलाई सहयोग नगर्न आग्रह गरिरहेका छन् । साहले आफूलाई कारागारको नम्बरबाट फोन गरेर निर्वाचनमा महतोलाई सहयोग नगर्न आग्रह गरेको काठमाडौंकेन्द्रित भई पत्रकारिता गर्दै आएका वीरेन्द्र केएमले बताए । अन्य पत्रकारलाई समेत फोन गरी महतोको विपक्षमा लाग्न साहले भनेको उद्धृत गर्दै वीरेन्द्रले बताए । साहले वीरेन्द्रलाई महतोविरोधी गतिविधिमा सहयोग गरे जुनसुकै सहयोग गर्न तयार रहेको समेत बताएका छन् । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस