माडीको ‘खास लडाइँ’ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

माडीको ‘खास लडाइँ’


१७ मंसिर २०७४, आइतबार


काठमाडौं । स्थानीय तह निर्वाचनमा सर्वाधिक चर्चामा रहेको भरतपुर महानगर प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पनि धेरैको चासोमा परेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष तथा वन मन्त्री विक्रम पाण्डेबीच तीव्र प्रतिस्पर्धा हुने मानिएको यो क्षेत्रमा अहिले पार्टीका नेतारकार्यकर्ता प्रचार र घरदैलोमा केन्द्रित छन् । तर, भन्दा भरतपुर भनिए पनि यो क्षेत्रको खास लडाइँचाहिँ माडी फाँटमा भइरहेको छ ।

स्थानीय तहमा झिनो अन्तरले माओवादीले मेयर जितेको माडी नगरपालिका क्षेत्रमा अहिले दिनका दिन दलका सभा, कोणसभा र भेला भइरहेका छन् । युद्धकालमा यहाँको सर्वसाधारण चढेको गाडी माओवादीले थापेको एम्बुसमा पर्दा ४२ जनाको मृत्यु भएको बाँदरमुडे पनि यही माडी क्षेत्रमा पर्छ । भरतपुरबाट चितवन राष्ट्रिय निकुञ्ज कटेर जानुपर्ने पश्चिम चितवनको यो क्षेत्र जिल्लामा निकै राजनीतिक चहलपहल हुने क्षेत्र मानिन्छ ।

साताअघि माडी क्षेत्रको बाँदरझुलामा चुनावी सभा गरेका दाहाल आइतबार फेरि माडीमा सभा गर्न जाँदैछन् । आइतबारको सभामा उनी एक्लै हुने छैनन् । वाम गठबन्धनका जोडीदार एमाले अध्यक्ष केपी ओली पनि माडी उत्रिँदै छन् । लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विक्रम पाण्डेका पनि यस क्षेत्रमा चुनावी सभा भइरहेका छन् । तर उनको सभामा कांग्रेस सभापति शेरबहादुर देउवा वा कुनै ठूला नेता आएका छैनन् ।

शनिबार भने माडीको केन्द्र मानिने वसन्तपुर बजारमा एक ठूला वामपन्थी नेता सानो कोणसभामा बोलिरहेका थिए । देशैभर वामपन्थी गठबन्धन बनिरहेको भए पनि यी वरिष्ठ वामपन्थी नेता अर्कै नेतालाई भोट माग्दै थिए । ती नेता थिए, नेकपा माओवादीका महासचिव मोहन वैद्य । एमाले र माओवादीले वामपन्थीका नाममा जनतालाई झुक्याएको भन्दै उनले आफ्ना पार्टीका उम्मेदवार टंकनाम रेग्मीको पक्षमा भोट मागे । लामो समयका राजनीतिक साथी दाहालले प्रतिस्पर्धा गरेकै ठाउँमा उनका विरुद्ध प्रचार गरेर वैद्यले आफ्नो राजनीतिक अडान प्रस्तुत गरे । लोकतान्त्रिक र वामपन्थी दुवै गठबन्धनलाई सिन्डिकेट भएको भन्दै यो खालि कुर्सीका लागि बनेको बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस