महानगरका मुसहरको पीडा : ‘राज्य हामीलाई नागरिक मान्दैन’ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

महानगरका मुसहरको पीडा : ‘राज्य हामीलाई नागरिक मान्दैन’


१७ मंसिर २०७४, आइतबार


विराटनगर । बाटो छेउमै निर्मित मन्दिरमा टाउको काटिएको शिवजीको मूर्ति, मंसिरको मध्यसँगै तराईका जिल्लामा उक्लँदो चिसो, नाकभरि सिँगान बोकेर पातलो सुर्तीको सर्ट र हाफ पाइन्टमा यताउता दौडिरहेका स–साना बालबालिका अनि नीलो प्लास्टिकको छानो हालेर बनाइएका टहरा । यो दृश्य हो, मुलुककै दोस्रो ठूलो सहर विराटनगर महानगरपालिका–१२ स्थित मुसहर बस्तीको ।

दोस्रो चरणको संघ र प्रदेश चुनाव आउन पाँच दिन बाँकी रहँदा विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट डेढ किमि दूरीमा रहेको यो बस्तीका नागरिकको मुहारमा भने खुसीको सामान्य झलकसम्म देख्न पाइँदैन । देशकै दोस्रो ठूलो महानगरको बासिन्दा भएर पनि सधैं राज्यको दृष्टिबाट ओझेलमा पर्दै पाएको यो बस्तीका करिब दुई हजार नागरिक अझै पनि गरिबी र अभावमा जीवन बिताउन बाध्य छन् ।

देशमा लोकतन्त्र स्थापना भएयता पनि उनीहरूले थुप्रै चुनावमा सुखद भविष्यको आश्वासन थाप्दै विभिन्न दलका उम्मेदवारलाई आफ्नो अमूल्य मत दिएर विजयी बनाई संसद् हुँदै सरकारसम्म पुर्‍याए । तर, पुस्तौंदेखि भोक, रोग र गरिबीसँग जुध्दै आएको यो मुसहर बस्तीका नागरिकको नियतिमा भने कुनै परिवर्तन आउन सकेन ।

‘हरेक निर्वाचनमा हामी राजनीतिक दल र तिनका उम्मेदवारबाट थुप्रै आश्वासन पाउँछौं तर चुनाव जितेर गएपछि उनीहरू हाम्रो दुर्दशा हेर्न फर्केर पनि आउँदैनन्,’ विराटनगर महानगरपालिका साविकको वडा नम्बर १६ बखरीका जितेन्द्र ऋषिदेव गुनासो गर्छन् ।

उमेरले ४७ वर्ष मात्र पुगे पनि अभावग्रस्त जीवनसँग संघर्ष गर्दागर्दै आफ्नो उमेरभन्दा निकै पाका देखिने जितेन्द्रका अनुसार उनीहरूको बाजे÷बराजु चार पुस्ता अगाडि बखरीमा आएका थिए । ‘अहिले हाम्रो बस्तीमा करिब दुई सय ५० जति घरपरिवार छन् । पुस्तौंदेखि बसोबास गर्दै आए पनि यहाँका ९८ प्रतिशत जनता अझै सुकुम्बासी छन्, ऐलानी जग्गामा बसोबास गर्छन्’, जितेन्द्र एकपछि अर्को गर्दै यो मुसहर बस्तीका समस्या सुनाउँछन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस