उपत्यकामा वर्षमा ३२ सय किशोरीले गर्छन् गर्भपतन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

उपत्यकामा वर्षमा ३२ सय किशोरीले गर्छन् गर्भपतन


१६ मंसिर २०७४, शनिबार


काठमाडौं । उपत्यकामा बर्सेनि २० वर्षभन्दा मुनिका करिब साढे ३२ सय किशोरीले गर्भपतन गराउने गरेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंको तथ्यांकअनुसार असुरक्षित यौनसम्पर्कबाट बसेको गर्भ सुरक्षित रूपमा गर्भपतन गर्नेको संख्या धेरै बढेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख महेन्द्र श्रेष्ठले पछिल्लो समय असुरक्षित यौनसम्पर्कको दरसँगै सुरक्षित गर्भपतन गराउनेको संख्या पनि बढ्दै गएको बताए । ‘सरकारले २० वर्षभन्दा कम उमेरमा बच्चा जन्माउन नपाउने व्यवस्था गरेको छ,’ श्रेष्ठले भने, ‘किशोर–किशोरीले असुरक्षित यौनसम्पर्क गर्ने र गर्भ बसेको अवस्थामा सुरक्षित गर्भपतन गराउने प्रचलन बढेको छ ।’

२० वर्षभन्दा कम उमेरका ठूलो संख्यामा किशोरीहरू गर्भपतन गराउनतर्फ लागेपछि सरकारले यसप्रति चासो र चिन्ता व्यक्त गरेको छ । सरकारमातहत दर्ता भएका स्वास्थ्य संस्थाले उपलब्ध गराएको तथ्यांकका आधारमा जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले एक प्रतिवेदन तयार पारेको छ ।

प्रतिवेदनमा २० वर्षभन्दा कम उमेरका किशोरीले गर्भपतन गराउने दर आशातीत बढी रहेको उल्लेख छ । प्रमुख श्रेष्ठले परिवार र समाजको डरले गर्दा किशोरीहरू गर्भपतन गराउन निजी स्वास्थ्य संस्था जाने गरेको पाइएको बताए । ‘यस्ता स्वास्थ्य संस्थामा गर्भपतन गराउँदा कुनै रिपोर्ट राखिएको हुँदैन,’ उनले भने ।

जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका अनुसार तीन आर्थिक वर्षमध्ये ०७२/७३ मा गर्भपतन गराउनेको दर धेरै छ । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका तथ्यांक अधिकृत पुष्कर बिजुक्छेका अनुसार ०७१/७२ मा १३ हजार ६०९ जनाले गरेको सुरक्षित गर्भपतन गराएका थिए ।

जसमध्ये २० वर्षमुनिका २५ प्रतिशत किशोरी थिए । आव ०७२/७३ मा १५ हजार ३०६ जनाले गर्भपतन गराएकोमा ३० प्रतिशत अर्थात् ३२ सय ६६ जना किशोरी थिए । ०७३/७४ मा सुरक्षित गर्भपतन गराउनेको संख्या १३ हजार ५७ जना रहेकामा २४ प्रतिशत किशोरी २० वर्षमुनिका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस