मायाले तान्यो मोहनविक्रमलाई « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मायाले तान्यो मोहनविक्रमलाई


१६ मंसिर २०७४, शनिबार


प्युठान । दाह्री–कपाल फुलेर ८२ वर्षीय मोहनविक्रम सिंह सेताम्य छन् । धेरैजसो दाँत झरिसके। पातलो शरीरका उनको अनुहारमा चाउरीले ढाकेको छ। झिमरुक गाउँपालिका–५ ओखरकोट प्युठान स्थायी घर भएका नेकपा मसालका महामन्त्री सिंह यो उमेरमा पहिलोपल्ट संसदीय चुनावको प्रचारमा लागेका छन् । उमेरले आफूभन्दा ३७ वर्ष कान्छी पत्नी दुर्गा पौडेलको मायाले उनलाई तानेको छ । भोट माग्न उनी प्युठानका गाउँघर डुल्दै छन् । मसालको संसदीय मोर्चा–राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष रहेकी उनकी पत्नी त्यहाँ वाम गठबन्धनका तर्फबाट उम्मेदवार छिन् ।

बितेका निर्वाचनमा पनि उनी भूमीगत रूपमा राष्ट्रिय जनमोर्चाको चुनावी प्रचारप्रसारमा सामेल हुन्थे । जिल्लाका निश्चित ठाउँमा मात्र पुगेर उनले मतदातासँग भोट माग्ने गरेका थिए । तर, यसपालि भने उनको सक्रियता बढेको छ । सधैँ अर्धभूमिगत भइरहने सिंहको यसपालिको सक्रियतालाई प्रतिस्पर्धीले ‘पत्नी मोहको’ आरोप लगाएका छन् । पत्नी उम्मेदवार भएकै कारण उनको क्रियाशीलता बढी देखिएको विपक्षीहरूले उनीमाथि आरोप लगाउँछन् । सिंहले आफू ६५ वर्षको हुँदा ०५८ सालमा २८ वर्षीया पौडेलसँग पछिल्लो गरेका थिए ।

यसपालिको निर्वाचनमा सिंहले जिल्लाका करिब दर्जनजति पार्टी प्रशिक्षण सम्पन्न गरिसकेका छन् । पत्नी पौडेलसँगै भने उनी हिँडेका छैनन् । सिंहले चुनाव जित्न विशेष रणनीतिक योजना बनाएर वाम मतदातालाई ऊर्जाका साथ प्रशिक्षण दिँदै आएका छन् । सातादेखि चुनावमा सक्रिय सिंहले जिल्लाका मच्छी, चुँजा, बाहाने, खलंगा, विजुवार, बरौला, चकचके, भिंग’, ठूलावेसीलगायत स्थानमा पुगेर वाम मतदातालाई ऊर्जा थप्ने काम गरिरहेका छन् ।

अझै केही दिन उनी जिल्लामै बसेर कार्यकर्तालाई प्रक्षिक्षण दिने कार्यक्रम रहेको बुझिएको छ । ‘एक भोटले पनि उम्मेदवारमा हारजित हुन सक्छ’, शुक्रबार प्युठान नगरपालिकास्तरीय चुनावी प्रशिक्षणका क्रममा जुम्रीमा सिंहले भने, ‘वाम गठबन्धनका उम्मेदवारलाई बहुमतले जिताउने गरी लाग्नुस्
। पार्टीभित्र कसैले पनि अन्तर्घात नगर्नुहोला ।’

सबैलाई मतदान गर्न आग्रह गर्दै हिँड्ने सिंह भने आफूले भोट हाल्दैनन् । गत स्थानीय तह निर्वाचनमा समेत उनले भोट हालेनन् । आफूले भोट नहाल्ने तर अरूलाई हाल्न आग्रह गर्दै हिँड्ने उनको शैलीलाई कतिपयले मन पराएका छैनन् ।

सिंहलाई विगतका निर्वाचनमा भन्दा यसपालि धेरै संघर्ष गर्नुपर्ने देखिन्छ । प्रत्यक्षतर्फ एक सिट नजितेमा मसालको चुनावी मोर्चा राजमो राष्ट्रिय पार्टी बन्न सक्दैन । विगतका निर्वाचनमा बाग्लुङ र प्युठानमा उम्मेदवार उठाए पनि यसपालि प्युठानमा मात्र उनकी पत्नी उम्मेदवार बनेकी हुन् ।
सिंगो पार्टी र पत्नीलाई विजयी गराउन उनी निकै दौडधुप गरेर गाउँगाउँमा पुगेका छन् ।

पत्नी मोहकै कारण उनी संसदीय निर्वाचनमा चुनावी मोर्चा राजमोलाई लचिलो बनाउँदै लगेको धेरैले टिप्पणी गर्न थालेका छन् । ०५६ सालको निर्वाचनमा कपिलवस्तु र ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट पराजय भोगेकी पौडेल ०७० सालको निर्वाचनमा प्युठानबाट समानुपातिक सांसद भइन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस