बेहुली « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बेहुली


१६ मंसिर २०७४, शनिबार


पञ्चेबाजाको धुनले गाउँमा उल्लास छाए पनि रञ्जु दिदीका आँखा भने रसाएका छन् । हिजोसम्म गाउँघरमा तुरूकफुरूक गर्ने ऊ आज जन्मघर छाड्नुको पीडाले भक्कानिँदै छ । बेलाबेला साथीहरूले सम्झाउँदा पनि उसले सुक्क…सुक्क…गर्न छाडेकी छैन ।

‘के गर्ने छोरी ? आखिर एक दिन पराइ घर जानै पर्छ । ढिलो–चाडो मात्रै त हो । चिन्ता नगर छोरी हामी छँदै छौं नि । न्यास्रो लागे माइतीघर छँदै छ नि,’ बुबाले सम्झाएपछि रञ्जु दिदीले आफूलाई सम्हाल्न खोजिन् ।
गाउँकी सोझी र इमान्दार युवतीको परिचय बनाएकी रञ्जु दिदी आज बेहुली बनेकी छे । उसको काँधमा कर्मघर सजाउने जिम्मेवारी थपिँदै छ ।

बिहेको विधि सुरु भइसकेको छ ।

केही दिन अघिसम्म रञ्जु दिदीले बिहेबारे सोचेकी पनि थिइनन् । तर, उनले आमाबुबाको निर्णय नकार्न सकिनन् । र, बिहेका लागि राजी भइन् । अब उनको काँधमा कर्मघर सजाउने दायित्व थपिएको छ ।

बुबाआमाले केही दिनअघि मात्र पल्लो गाउँको एक सरकारी जागिरे केटासँग उसको बिहे छिनेका थिए । ऊ भर्खरै आफ्नै जिल्लामा नायब सुब्बामा पोस्टिङ भएको थियो ।

मलाई रञ्जु दिदीसँग बालापनमा गोठालो गएको अझै सम्झना छ । गोठालो जाँदा दिदीको कुराले मलाई निकै छोएको थियो । ‘सन्तोष भाइ, राम्रोसँग पढेर ठूलो मान्छे बन्नु र आमाबुबालाई खुसी राख्नु है,’ रञ्जु दिदी भन्थिन् ।

गोठालो गएका बेला उनी बेलाबेला तल्लो घरकी दिदीबारे निकै चिन्ता गर्थिन् । ‘कस्तो दुःख छ है त्यो दिदीलाई ? श्रीमानले सधै रक्सी खाएर पिट्ने भएकाले होला, प्रायः सधै माइती आइरहनुहुन्छ । त्यो दिदीको अवस्था देखेर पनि मलाई बिहेप्रति खासै रुचि छैन,’ रञ्जु दिदी बेलाबेला भन्थिन् ।

रञ्जु दिदी पढाइमा निकै मिहिनेती थिइन् । त्यति मात्र होइन, उनको व्यवहार पनि निकै राम्रो थियो । सानालाई माया र ठूलाको आदर गर्ने । त्यसैले त उनले मिलनसार र सोझी युवतीको उपमा पाएकी थिइन् । उनको सौन्दर्य पनि स्वर्गकी ‘अप्सरा’ भन्दा कम थिएन । त्यसैले त उनको सौन्दर्य र योवनमा केटाहरू मन्त्रमुग्ध हुन्थे । तर, उनमा कहिल्यै पनि सौन्दर्य र योवनको मात थिएन । न त उनी गलत मार्गतिर नै लागिन् । बरु, सधै साथीभाइलाई गलत मार्गमा नलाग्न प्रेरित गर्थिन् ।

गाउँघरमा उमेर नपुग्दै छोरीको बिहे गर्ने प्रचलन थियो । तर, उनी उमेर नपुग्दै बिहे गर्नुहुन्न भन्नेबारे सजग थिइन । साथीहरूलाई उमेर पुगेपछि मात्रै बिहे गर्ने सल्लाह दिन्थिन् । यद्यपि उनका केही साथीले भागेर पनि बिहे गरेका थिए ।
‘एक अर्थमा रञ्जु दिदी साथीहरूभन्दा भाग्यमानी हो । खान्दानी र सरकारी जागिरे केटा पतिका रूपमा पाएकी छे,’ म मनमनै सोच्छु ।

बिहेको सम्पूर्ण विधि सकिएसँगै केही छिनमा रञ्जु दिदी पराइघर प्रस्थान गर्दैछिन् । उसलाई साथीहरूले घेरेका छन् । ऊ बेलाबेला साथीहरूसँग अंकमाल गरी भक्कानिन्छे । लाग्छ, उसको अनुहारमा जन्मघर र साथीसंगी छोड्नुपर्दाको पीडा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस