गालीगलौजमा उत्रिए नेता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गालीगलौजमा उत्रिए नेता


१५ मंसिर २०७४, शुक्रबार


काठमाडौं । चुनावी प्रचारक्रममा कांग्रेस र वाम गठबन्धनका नेता एक–अर्काविरुद्ध खनिन थालेका छन् । जिल्ला दौडाहामा रहेका शीर्ष नेता नै ‘अशिष्ट शैली’ मा गालीगलौजमा उत्रिन थालेका हुन् । एकले–अर्कोलाई लोकतन्त्र मास्ने खेलमा लागेको, पश्चगमन ब्यूँताउन लागेको, सम्मान गर्न नजानेको जस्ता आरोपसहित नेता चुनावी अभियानमा होमिएका छन् ।

एमाले–माओवादीले पार्टी एकताको सैद्धान्तिक सहमति गरी चुनावी तालमेल गरेसँगै दुई धु्रवीय राजनीतिमा विभाजित वामपन्थी र लोकतान्त्रिक शक्तिबीच आरोप–प्रत्यारोप हुन थालेको हो । चुनावको मुखमा मतदातालाई प्रभावमा पार्न दलहरू हदैसम्मका आरोप–प्रत्यारोपमा उत्रिएको बुझाइ मनोविश्लेषकको छ ।

मनोविश्लेषक प्रोफेसर डा. शिशिर सुब्बा ५०/६० वर्षअगाडिको जस्तो राजनीति अहिले नरहेको र मतदातालाई प्रभावित गर्न उत्तेजित भाषण गर्ने शैली विकास हुँदै गएको बताउँछन् । ‘अहिले आइडियोलोजी (विचार) कुरैमा सीमित छ, सर्वसाधारणलाई साथ लिन दलका नेताले जे पनि बोल्न थालेका छन्,’ उनले अन्नपूर्णसँग भने, ‘पढे–लेखेका, विद्वता भएका मान्छेको समूह सानो छ । धेरै मतदाता न्युट्रल छन्, उनीहरूलाई पक्षमा तानेर कसरी चुनाव जित्ने भन्नेमै छन्, सडकको डिमान्ड पनि त्यस्तै छ । त्यसैले नेता उत्तेजित शैली र छुद्र भाषामा सडक तताउन खोज्छन् ।’

भाषणमा मात्रै होइन, चुनावी घोषणापत्रमै पनि दलहरू एक–अर्को पार्टीविरुद्ध खनिएका छन् । कांग्रेसले वाम गठबन्धन मुलुकका लागि अनिष्ट भएको, कम्युनिस्टले अधिनायकवादी व्यवस्था ल्याई सर्वसत्तावाद लाद्न खोजेको जस्ता आरोप घोषणापत्रमै लगाएको छ । उता, वाम गठबन्धन (एमाले–माओवादी) ले पनि आफ्नो चुनावी घोषणापत्रमा कांग्रेसलाई यथास्थितिवादी, पश्चगामी शक्तिका रूपमा चिनाउन खोजेको छ ।

राजनीतिक विश्लेषक लोकराज बराल कांग्रेसले अहिले वाम गठबन्धनलाई सर्वसत्तावादी भनी लगाउँदै आएको आरोप ‘चुनावी अस्त्र’ र एमाले–माओवादीले लामो समयसम्म कांग्रेसविना शासन चलाउने भनी दिएको अभिव्यक्ति अतिशयोक्तिपूर्ण भएको बताउँछन् । ‘अहिले नेपालमा न कम्युनिस्टले सर्वसत्तावाद लाद्न सक्छन् न कांग्रेस नै पछाडि फर्केर जान सक्छ । यस्तो बेला कांग्रेसले वाम गठबन्धनलाई लगाउने आरोप चुनावी अस्त्र मात्र हो । एमाले–माओवादीले कांग्रेसलाई सरकारमा आउनै दिन्नौं भन्नु पनि अतिशयोक्ति हो,’ बरालले भने ।

नेपालमा मात्र नभई विश्वमै चुनावी प्रचारका बेला दलहरू आरोप–प्रत्यारोपमा उत्रने र उत्तेजित हुने गरेको विश्लेषक बराल बताउँछन् । ‘भारतमा मोदी र राहुल गान्धीको आरोप–प्रत्यारोप र अमेरिकाको चुनावमा हिलारी क्लिटन्न र डोनाल्ड ट्रम्पबीचको आरोप–प्रत्यारोप देखिएकै हो,’ उनले भने, ‘अहिले चुनावका बेला जहाँत्यहीँ यस्तै आरोप चल्छ । नेपालमा पनि चलिरहेको छ ।’

नेपालका राजनीतिक दल भने चुनावका क्रममा बनाउनै पर्ने एजेन्डाभन्दा बाहिर रहेर अहिले सन्दर्भहीन आरोपमा उत्रेको बरालको बुझाइ छ । उनका अनुसार कांग्रेसले विगतमा खेलेको भूमिकाको प्रस्टताका लागि जनताबीच एजेन्डा लैजान सकेको छैन भने वाम गठबन्धनले आफ्ना कार्यक्रम र नीति जनतालाई बुझाउन सकिरहेको छैन । ‘मुल मुद्दा छायामा छन्, सहायक मुद्दामा दलहरू बहसमा उत्रेका छन्,’ उनी भन्छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस