दलका पुरानै एजेन्डा, मतदातामा छैन उत्साह « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दलका पुरानै एजेन्डा, मतदातामा छैन उत्साह


१४ मंसिर २०७४, बिहिबार


बाँके । चुनाव नजिक आए पनि बाँके, नरैनापुरका नन्कौं अन्सारी हर्षित देखिँदैनन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिक आइरहेका बेला गाउँमा चुनावी गतिविधि बिस्तारै बढ्न थालेका छन् तर तिनले नन्कौंलाई छुन सकेका छैनन् ।

‘आजभोलि नेताहरुले हात जोडेर नमस्कार गरिरहेका छन्, जितेर गएपछि नमस्कार गर्दा पनि फर्काउँदैनन्,’ चियानास्ता पसल सञ्चालन गर्दै आएका नन्कौंले नागरिकसँग भने, ‘जसले जितेर गए पनि हाम्रो समस्या सुन्दैनन्, चुनाव आए पनि मनमा खुसी छैन ।’ उनको पसलमा थरीथरी दलका स्थानीय नेता कार्यकर्ता जम्मा हुन्छन् र राजनीतिक गफ चुट्छन् तर नन्कौंलाई यसमा खासै चासो हुँदैन ।

बाँकेको नरैनापुर सुगम जिल्लाको दुर्गम ठाउँका रुपमा परिचित छ । यहाँका साविक ६ वटा गाविस गंगापुर, मटेहिया, नरैनापुर, कालाफाँटा, लक्ष्मणपुर र कटकुइयाँ मिलेर नरैनापुर गाउँपालिका बनेको छ । मधेसी र मुस्लिम समुदायको बसोबास रहेको नरैनापुर क्षेत्र जिल्लाको सबैभन्दा पछाडि परेको ठाउँ हो । यो क्षेत्र वर्षौंदेखि सडक, विद्युत्, सिँचाइ सुविधाबाट वञ्चित छ।

२०५१ सालमा गाडिएका विद्युत पोल अझैसम्म तार टाँगिएको छैन । विकास निर्माणमा देखिएको सुस्तताले गर्दा नरैनापुरबासी राजनीतिक दलप्रति आक्रोशित छन् । ‘जब चुनाव आउँछ, त्यसपछि मात्र नेता गाउँमा देखिन्छन्,’ नरैनापुर गाउँपालिका–१ कटकुइयाँ निवासी इब्रार खाँले भने, ‘चुनाव आउन थालेपछि नेताहरुको उपस्थिति बिस्तारै बाक्लो हुँदै गएको छ, अघिपछि भने अनुहारै देखाउँदैनन् ।’ आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस