सिटौला जिताउन ‘म्याच फिक्सिङ’ ! « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सिटौला जिताउन ‘म्याच फिक्सिङ’ !


१४ मंसिर २०७४, बिहिबार


झापा । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार झापाको गौरादहमा (क्षेत्र नं ५) आयोजित आमसभामा एमाले र माओवादी केन्द्रको गठबन्धनविरुद्ध आक्रामक भाषण गरे । ‘कम्युनिस्ट सरकार बने कहिल्यै निर्वाचन नहुने र एकदलीय अधिनायकवाद लाद्ने’ दाबी देउवाले गरिरहँदा गृहजिल्लामै रहेका कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला कार्यक्रममै गएनन् । सिटौलाजस्तै अर्का युवा नेता विश्वप्रकाश शर्मा पनि अनुपस्थित भए । जिल्लामा आफ्नै पार्टी नेतृत्व सहभागी कार्यक्रमप्रति उनीहरूको अनुपस्थितिलाई लिएर यतिबेला अनेक कोणबाट चर्चा चलिरहेको छ ।

सिटौला र शर्मासँग एमाले उम्मेदवार चुनावी प्रतिस्पर्धामा छैनन् । सिटौला राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन र शर्मा माओवादी नेता राम कार्कीसँग प्रतिस्पर्धामा छन् । यसकारण यी दुवै नेता जिल्लामा एमालेलाई चिढाउन चाहँदैनन् । बरु आफ्नै पार्टीको नेतृत्वमा गठित लोकतान्त्रिक गठबन्धनमा आबद्ध राप्रपाप्रति बढी आक्रामक देखिन्छन् ।

‘ओलीविरुद्ध किन बोलिराख्ने भनेर नै दुवै नेता (सिटौला र शर्मा) शीर्षस्थ नेतृत्व सहभागी गृहजिल्लाकै कार्यक्रममा समेत नगएका हुन्,’ कांग्रेसका एक नेताले भने । उक्त कार्यक्रममा कांग्रेस नेतृत्वले एमाले अध्यक्ष ओली र वाम गठबन्धनप्रति चर्को विरोधमा अभिव्यक्ति दिएको थियो ।

वाम गठबन्धनविरुद्ध नरम बनेर सिटौलाले एमाले र माओवादी केन्द्र पंक्तिको मत आकर्षित गर्न जसरी खोज्दैछन् त्योभन्दा पनि उनलाई सहज बनाउन एमाले र माओवादीको नेतृत्व पंक्तिले ‘म्याच फिक्सिङ’ भूमिका निर्वाह गरेको चर्चासमेत चल्ने गरेको छ । यसका पछि केही तर्क पनि छन् ।

२०४८ देखि निरन्तर चुनाव लड्दै आएका सिटौलाको ३ नम्बर क्षेत्र राप्रपाका महामन्त्री लिङ्देनलाई छाड्ने सहमति कांग्रेसको पार्टी नेतृत्वले गरिसकेको थियो । सिटौलाको नाम समानुपातिक सूचीको १ नम्बरमा राखेर निर्वाचन आयोगमा बुझाइसकिएको थियो । सुरुका केही दिन पार्टीको निर्णयप्रति मौन थिए सिटौला । जब झापा आएर काठमाडौं फर्किए, अनि उनले जसरी पनि आफू चुनाव लडिछाड्ने बताए । त्यतिबेला ओलीसँगको गोप्य कुराकानीपछि नै सिटौला चुनावी मैदानमा खडा भएको तर्क राजनीतिक वृत्तमा चलेको छ । जसलाई ‘म्याच फिक्सिङ’ सँग जोडेर हेरिएको छ ।

सिटौलाका भने भिन्नै तर्क छन् । आफू नभएकै मौकामा समानुपातिक सूचीमा राखिएको र झापाका कांग्रेस कार्यकर्ताको दबाब र मायाकै कारण आफू चुनावी मैदानमा होमिएको तर्क उनी गर्छन् । ‘मलाई समानुपातिकमा राखेर मेरो क्षेत्रमा राप्रपालाई सघाउने निर्णयलाई मैले पार्टी नेतृत्वको दुस्साहस भनेको छु,’ उनले भने, ‘म्याच फिक्सिङका कुरा बेकार हुन्, एमाले र माओवादी नेतृत्वसँग मेरो छलफल भएको छैन ।’ राप्रपा नेता लिङ्देन पनि ‘म्याच फिक्सिङ’ भन्ने हल्लाप्रति विश्वास राख्दैनन् । ‘मलाई विश्वास छैन, तैपनि त्यसको जवाफ दिने म होइन, केपी ओलीसँग नै सोध्नुहोला,’ उनले भने ।

यही संशय चिर्न लिङ्देनकै आग्रहमा ओलीले दोस्रो पटक बिहीबार क्षेत्र नम्बर ३ मै आयोजित सभालाई सम्बोधन गर्ने भएका छन् । ओलीको चुनावी अभियानको सुरुवात पनि यसै क्षेत्रबाट भएको थियो ।

सिटौलाको निर्वाचन क्षेत्रमा आफ्नो पार्टीको उम्मेदवार नउठाउनुमा एमाले अध्यक्ष ओलीको स्वार्थ पनि जोडिएको छ । ओली र सिटौलाले प्रतिस्पर्धा गरेका क्षेत्रमा राप्रपाको प्रभाव मानिन्छ । सम्भवतः राप्रपाको देशभरमै सबभन्दा राम्रो प्रभाव क्षेत्रमध्येका यी दुई निर्वाचन क्षेत्र पर्छन् । सिटौला समानुपातिक सूचीमा बसेको भए राप्रपाको गठबन्धन यहाँ पनि कांग्रेससँगै बन्थ्यो । राप्रपासँगको गठबन्धनमा कांग्रेस युवा नेता विश्वप्रकाश शर्मालाई ओलीसँगै प्रतिस्पर्धा गराउने कि भन्ने अनौपचारिक संवाद पनि कांग्रेस वृत्तमा चलाइएको थियो । शर्माले यी चर्चालाई इन्कार गरेनन् । ‘मलाई यस क्षेत्रबाट बाहिर्‍याउनुपर्छ भन्ने मनसाय सम्भवतस् एमालेमा थियो,’ उनले भने । ओलीलाई आफ्नै निर्वाचन क्षेत्रमा ‘इन्गेज’ गराइदिने कांग्रेसको यो रणनीति त्यतिबेला असफल भयो, जतिबेला सिटौला चुनावी मैदानमा आउने भए । सिटौला मैदानमा आएपछि राप्रपाको गठबन्धन यस जिल्लामा एमाले र माओवादी केन्द्रसँग जोडिन पुग्यो, जसले ओलीका लागि पनि बाटो सहज हुन पुग्यो ।

एमालेका स्थानीय नेता एवं ३ नम्बर निर्वाचन क्षेत्रका चुनाव परिचालन समिति संयोजक पुष्पराज पोखरेल अघिल्लोभन्दा पछिल्लो तर्कसँग सहमत छन् । यद्यपि वाम गठबन्धनले अन्य ठाउँमा कांग्रेससँग भएको तिक्तता भने झापाको हकमा नभएको बताउँछन् । ‘तीन नम्बर क्षेत्रमा कांग्रेस र वाम गठबन्धनका नेता व्यक्तिगत आरोपप्रत्यारोपमा उत्रिएका छैनन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस