‘मरे तो मुक्ति, जिये तो मधेस’ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

‘मरे तो मुक्ति, जिये तो मधेस’


१४ मंसिर २०७४, बिहिबार


काठमाडौं । सर्लाहीको मलंगवास्थित राजपा कार्यालयको भित्तामा ठूला अक्षरमा महन्थ ठाकुरको एउटा उक्ति लेखिएको छ, ‘मरे तो मुक्ति, जिये तो मधेस ।’ त्यो भित्तो ठाकुरकै घरको हो । र, यो घर पहिला कांग्रेसको कार्यालय थियो । जीवनको लामो खण्ड गुजारेको कांग्रेस छाडेर जब उनले तमलोपा बनाए, त्यसैको कार्यालय बन्यो । अहिले उनी राजपा अध्यक्ष मण्डलका संयोजक छन्, घर पनि त्यही पार्टीलाई कार्यालयस्वरूप सुम्पेका छन् ।

ठाकुर भने जति उमेर ढल्किँदै गयो, ‘मधेस मुक्ति’ को एजेन्डा बोकेर उति आक्रामक राजनीति गरिरहेका छन् । अनि, मुक्तिको गन्तव्यमा पुग्ने आश्वासनसहित महोत्तरी ३ बाट प्रतिनिधिसभाको प्रतिस्पर्धामा उत्रेका छन् । कर्मभूमि सर्लाहीमा पछिल्ला दुई चुनाव हारेका उनी सुरक्षित थलो खोज्दै यसपालि जन्मभूमि महोत्तरी आइपुगेका छन् ।

‘सरकार मधेसप्रति सधैं उदासीन छ । सत्ताको बागडोर जससँग छ, साधन स्रोत उसकै हातमा छ । तिनले मधेसलाई कहिल्यै हेरेनन् । राज्यले मधेसीको अनुहारमा नेपालीपन अहिलेसम्म अनुभूत गर्न सकेको छैन,’ उनले भने, ‘निजामती, न्यायलगायत तमाम सेवामा मधेसीको उपस्थिति न्यून छ । यो समस्याबारे गाउँ–गाउँमा सबैलाई थाहा भइसकेको छ । उनीहरू त्यसको सम्बोधन चाहन्छन् । हाम्रो उम्मेदवारी त्यसकै लागि हो ।’ महोत्तरी र यहाँका बासिन्दाको अवस्था दिनदिनै झन् खस्किइरहेको उनले बताए । ‘सदरमुकाम जलेश्वरका नाली दुर्गन्धित छन् । जाडो लागिसक्दा पनि लामखुट्टेको प्रकोप छ । हरेक वर्ष डेंगु र कालाज्वरजस्ता रोगको सामना गर्नुपर्छ । सडक बर्खामा हिलो, हिउँदमा धूलो हुन्छन्,’ उनले भने, ‘बाढी प्रभावितको पीडा उस्तै छ । शिक्षा र स्वास्थ्यमा पछि परेको छ ।’

उनले आफ्नो क्षेत्रका जनता विकासका आकांक्षी रहेको सुनाए । ‘तर विकास भइरहेको छैन । हुलाकी सडकको हामी हरेक साल चर्चा सुन्छौं । तर, खोइ कहाँ छ त्यो सडक ? रोजगार छैन, कामका लागि बाध्यतावश विदेश जानु परिरहेको छ,’ उनले थपे, ‘मधेसमा के भइरहेछ ? यी सब जनताका आवश्यकता राज्यले पूरा गर्नुपर्ने होइन ?’ उनले यस्ता समस्याको समाधानका साथै भद्रगोल अवस्थामा रहेका कतिपय योजनालाई तीव्रता दिन आफ्नो पहल हुने जानकारी दिए ।

असल व्यक्तित्व, स्वच्छ छवि, अध्ययनशीलता, क्रान्तिकारी स्वभाव र इमानदारी उनका प्रशंसनीय पाटा हुन् । कार्यकर्तामा पकड नहुनु, आफ्नो ठाउँको विकासमा खासै चासो नदिनु, कम बोल्नु, सर्वसाधारणको पहुँचबाट टाढा रहनु र सञ्चार सम्पर्कबाट पर बस्नुलाई राजपाकै कार्यकर्ता उनका कमजोरी ठान्छन् । यसपालि मनोनयन दर्तामा नआई प्रतिनिधिमार्फत गराएका उनी त्यसपछि प्रायः राजधानीतिरै बसेर निर्वाचनको मुखमा मात्र क्षेत्रमा झरेका छन् ।

खर्चिलो र रवाफिलो चुनाव प्रचारका सन्दर्भमा उनको ‘भद्र शैली’ आफैंमा चुनौतीपूर्ण देखिन्छ । अरू उम्मेदवार नमस्कार गर्दै घरघर पुगिरहेका छन्, उनी भने सुस्त गतिमा छन् । स्थानीय तहको परिणामले उनको क्षेत्रमा राजपाको कडा पकड देखाएको छ, अर्कातिर कांग्रेसले साथ दिएको छ । तर पनि, विजय चुनौतीमुक्त छैन । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस