मतमेटिका जोगाउन चिसोले सकस « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मतमेटिका जोगाउन चिसोले सकस


१३ मंसिर २०७४, बुधबार


डोल्पा/जुम्ला । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पहिलो चरणअन्तर्गत आइतबार मतदान भएका उच्च हिमाली जिल्लाका मतपेटिका विभिन्न केन्द्रबाट सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइसकिएको छ । तर, ती मतपेटिकालाई पहरा दिएर सुरक्षित राख्न सुरक्षाकर्मी र दलका कार्यकर्तालाई कठ्याङ्ग्रिदो चिसो चुनौती बनेको छ ।

जुम्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न मतदान केन्द्रबाट संकलन गरी मतपेटिका ल्याइएको छ । ती मतपेटिका मतगणना नहुँदासम्म सुरक्षित राख्न सुरक्षाकर्मीसँगै वाम गठबन्धन र कांग्रेस प्रतिनिधि खटिएका छन् । कठ्याङ्ग्रिँदो चिसोमा २४ सैं घन्टा मतपेटिकालाई पहरा दिनुपर्दा समस्या भएको वाम गठबन्धनबाट प्रदेशसभा (ख) का उम्मेदवार पदमबहादुर रोकायाले बताए । उनले भने, ‘मतगणना नहुँदासम्म पहरा दिँदा बिरामी भइने पो हो कि भन्ने चिन्ता थपिएको छ ।’

राजनीतिक दलले मतपेटिकाको पहरा दिन खटिएका प्रतिनिधिलाई बाक्लो सिरक, डस्ना र खानाको व्यवस्था गरेका छन् । पालो बाँधेर मतपेटिकाको सुरक्षाका लागि पहरा दिन थालेको रोकायाले बताए । ‘कठ्याङ्ग्रिँदो चिसोमा पालैपालो रातदिन कार्यकर्तालाई खटाएका छौं,’ उनले भने । कांग्रेस र वा गठबन्धनका उम्मेदवारले पनि मतपेटिका सुरक्षास्थलमा प्रतिनिधि खटाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कांग्रेसले जिल्ला समन्वय समिति सदस्य जयराज भारतीको संयोजकत्वमा मतपेटिका सुरक्षा समिति बनाएको छ । वाम गठबन्धन प्रचारप्रसार संयोजक पूर्णप्रसाद धितालले आफैं लत्ताकपडा लिएर मतपेटिका राखिएको स्थलबाहिर बस्ने गरेको बताए ।

यस्तै जिल्लाका विभिन्न केन्द्रबाट डोल्पा सदरमुकाम दुनैमा मटपेटिका ल्याइसकिएको छ । दुनैस्थिति मुख्य निर्वाचन अधिकृतको कार्यालय ल्याइएका मतपेटिकाको सुरक्षाका लागि कठ्याङ्गिँ्रदो चिसोेको पर्वाह नगरी दलका प्रतिनिधि पनि खटिएका छन् । जिल्ला अदालतमा राखिएका मतपेटिकाको सुरक्षाका लागि पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना तथा मतपेटिका राखिएको कोठाबाहिर प्रत्येक राजनीतिक दलका प्रतिनिधि खटिएका छन् ।

डोल्पाका ६६ मतदान केन्द्रका एक सय ९८ मतपेटिकामध्ये मंगलबारसम्म एक सय ७१ मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय ल्याइसकिएको छ । सेनाको हेलिकप्टरमार्फत् शेफोक्सुन्डो गाउँपालिकाका फोतगाउँ, कुगाउँ र भिजेर तथा छार्काताँगसोग गाउँपालिकाका छार्काभोट, घेराग, सप्तकोसी केन्द्रका मतपेटिका प्रतिकूल मौसमका कारण ओसार्न नसकिएको मुख्य निर्वाचन अधिकृत रमेश ज्ञवालीले बताए । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस