बाजुरामा मतदान अधिकृत सम्पर्कविहीन, खोजी कार्य जारी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बाजुरामा मतदान अधिकृत सम्पर्कविहीन, खोजी कार्य जारी


१२ मंसिर २०७४, मंगलबार


बाजुरा । बाजुराको उत्तरी भेगमा रहेको पाण्डवगुफा गाउँपालिका–४ मा रहेको मालिका मावि बाङ्गपानी मतदान केन्द्रका मतदान अधिकृत प्रेमराज गिरी सोमबारदेखि सम्पर्कविहिन भएका छन् ।

पोरखे लेकबाट गिरी सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। बाजुराका प्रहरी निरीक्षक जगदीश भट्टले प्रतिनिधिसभा र प्रदेशसभाको मतदान प्रक्रिया सकिएपछि मतदान केन्द्रबाट सदरमुकाम मार्तडी आउने क्रममा अधिकृत गिरी बीचबाटोबाट सम्पर्कविहीन भएका जानकारी दिए ।

सम्पर्कविहीन रहेका गिरी प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमका कर्मचारी हुन् । गिरी मदिरा सेवन गर्ने भएकाले उनी कतै होटलमा बसेको प्रहरीको अनुमान छ । सम्पर्कविहीन रहेका गिरीको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ ।

पोरखे लेकसम्म गिरी मतपेटिकासँगै रहेको भए पनि साँझ पर्न थालेपछि उनी सम्पर्कविहीन भएको उनका सहयोगी कर्मचारीले बताएका छन् । गिरीको मतदान केन्द्रको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगे पनि मतपेटिका बुझाउन बाँकी रहेको हुँदा मुख्य निर्वाचन अधिकृतको कार्यालय बाहिरै मतपेटिका राखिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस