३२ जिल्लामा ७ बजेदेखि मतदान हुँदै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

३२ जिल्लामा ७ बजेदेखि मतदान हुँदै


१० मंसिर २०७४, आइतबार


काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरण निर्वाचनअन्तर्गत हिमाली तथा उच्च पहाडी ३२ जिल्लामा आज मतदान हुँदैछ । ३२ जिल्लाका ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभा सदस्यका लागि आज मतदान भइरहेको छ ।

मतदान बिहान ७ बजेदेखि सुरु भएको छ भने मतदाताले साँझ ५ बजेसम्म मतदान गर्न पाउने छन् ।

पहिलो चरणमा ७०२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । आयोगका अनुसार ३१ लाख ९१ हजार ९४५ मतदाताले मताधिकार प्रयोग गर्नेछन्, जसका लागि दुई हजार ९१९ मतदान स्थलमा चार हजार ४६५ मतदान केन्द्र राखिएको छ ।

संविधान जारी भएपछि संघीयता कार्यान्वयनका लागि मुलुकमा पहिलोपटक चुनाव हुन लागेको हो ।

पहिलो चरणमा प्रदेश १ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, प्रदेश ४ का मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखा, प्रदेश ५ का रूकुम (पूर्वीभाग) र रोल्पा, प्रदेश ६ का रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा तथा प्रदेश ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडीमा निर्वाचन हुन लागेको हो । प्रदेश २ मा कुनै पनि पहाडी जिल्ला नभएकाले उक्त प्रदेशका सबै ८ जिल्लामा दोस्रो चरणमा मतदान हुनेछ । दोस्रो चरणअन्तर्गत ४५ जिल्लामा मंसिर २१ गते मतदान हुनेछ ।

प्रतिक्रिया दिनुहोस