निर्वाचनमा ६४ हजार सैनिक परिचालित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

निर्वाचनमा ६४ हजार सैनिक परिचालित


९ मंसिर २०७४, शनिबार


नेपाली सेना

काठमाडौं । निर्वाचन आयोगको समन्वयमा नेपाली सेनाले ७७ जिल्लाका प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा एक गुल्मबराबर सैनिक परिचालन गरेको छ । त्यसबाहेक केन्द्रमा विशेष बाहिनीअन्तर्गतका गण, सम्बन्धित प्रदेशमा रहेको पृतना र त्यसअन्तर्गतका बाहिनीमा हेलिकोप्टर र मद्दती फौज पनि सतर्क अवस्थामा राखिएका छन् । सेनाले जम्मा ६४ हजार २० जनाको फौज खटाएको छ । यो कुल सैनिक संख्या ९६ हजार पाँच सयको करिब ६६ प्रतिशत हो ।

‘हरेक निर्वाचन क्षेत्रमा कम्तीमा एउटा गुल्म र सुरक्षा संवेदनशीलताका हिसाबले थप जनशक्ति तैनाथ गरिसकेका छौँ, अन्य सुरक्षा निकायसँगको समन्वयमा जिम्मेवारी सुरु भइसकेको छ,’ सैनिक प्रवक्ता सहायकरथी नैनराज दाहालले भने, ‘सुरक्षा संवेदनशीलताका आधारमा थप फौज पनि पठाएका छौँ, आवश्यकताका आधारमा परिचालन गर्ने गरी मद्दती फौज पनि तयारी हालतमा राखेका छौँ ।’

हरेक पृतनामा कम्तीमा एउटा हेलिकोप्टर जुनसुकै वेला परिचालन हुने गरी तयारी हालतमा राखिएको सेनाले जनाएको छ । सेनाले जिल्लास्थित गण, बाहिनी, पृतना र हेडक्वार्टरअन्तर्गत विशेष बाहिनीबाट खटिने गरी चार तहमा मद्दती फौज पनि तयारी हालतमा राखेको छ ।

‘आसन्न प्रदेश सभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली सेनाबाट ६४०२० फौज परिचालन गरिएको छ,’ सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उल्लेखित फौजले मतपत्र छपाइ सुरक्षा, निर्वाचन सामग्री ढुवानी, कारागार तथा विमानस्थल सुरक्षालगायत निर्वाचन सुरक्षाका लागि तेस्रो घेरामा रही आवश्यक अन्य सुरक्षा प्रदान गर्ने कार्य गरिरहेको छ ।’

दाहालका अनुसार निर्वाचन क्षेत्रको सुरक्षालाई लक्षित गरेर सैनिक परिचालन भएका छन् । गृह मन्त्रालयले तयार गरेको सुरक्षा रणनीतिका आधारमा अति संवेदनशील क्षेत्रमा रिमोट कन्ट्रोल डिभाइससहितको बम डिस्पोजल टोली खटाइएको पनि दहालले जानकारी दिए ।

पहिलो चरणको निर्वाचनका लागि पूर्वी पृतना इटहरीबाट प्रदेश नम्बर १, मध्य पृतना हेटौँडाबाट प्रदेश नम्बर ३, पोखरास्थित पश्चिम पृतनाबाट प्रदेश नम्बर ४, मध्यपश्चिम पृतना बुटवलबाट प्रदेश नम्बर ५, उत्तरपश्चिम पृतना सुर्खेतबाट प्रदेश नम्बर ६ र सुदूरपश्चिम पृतना दिपायलबाट प्रदेश नम्बर ७ को सुरक्षाका लागि फौज परिचालित भएका छन् । निर्वाचनका लागि सेनाले कमान्डरहरूका लागि पूर्वपरिचालन तालिम र त्यसपछि अन्यलाई आफ्नो भूमिकाबारे अभिमुखीकरण तालिम पनि दिइसकेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस