काम, ऊर्जा र चरम सुख « प्रशासन
Logo १४ मंसिर २०७८, मंगलबार
   

काम, ऊर्जा र चरम सुख


९ मंसिर २०७४, शनिबार


तपार्इँले आफ्नो समग्र ऊर्जा मस्तिष्कमा केन्द्रित गर्नुभएको छ । कामका लागि कुनै ऊर्जा बाँकी छाड्नु भएको छैन । म तपाईँलाई बताउँछु, सम्पूर्ण आनन्द काममा छ, जब म काम–ऊर्जाको कुरा गर्छु । त्यो शब्दको प्रयोग गर्छु त मेरो अर्थ जनइन्द्रियको सुखको कुरासँग होइन । जनइन्द्रियको सुख त निकै सानो अनुभव हो । यो काम–ऊर्जाको छोटो अभिव्यक्ति मात्र हो । काम–ऊर्जा त एक विराट अनुभव हो । कामको अर्थ मेरो विचारमा जब तपाईँको शरीर जीवन्त छ, ऊर्जाले अभिभूत छ, स्पन्दीत छ, कम्पायमान छ तब तपाई कामको स्थितिमा हुनुहुन्छ । सायद यसको काम इन्द्रीयहरूसँग कुनै मतलव छैन । उदाहरणका लागि जब तपाई नृत्य गरिरहनुभएको छ तब तपाईँ कामुक हुनुहुन्छ । नृत्यको ऊर्जा कामको ऊर्जा हो, काम इन्द्रीयको होइन, तपाईँ सेक्सबारे सोचिरहनुभएको पनि हुन्न । त्यतिखेर यो पनि सम्भव छ कि तपाईँ सेक्सबारे भुल्न पनि सक्नुहुन्छ र समग्र शरीरमा विलिन भएर गहिराइपूर्वक यसमा सहभागी हुनुहुन्छ तब घटना काम–ऊर्जाको हुन्छ । चाहे तपार्इँ तैरिरहनु भएको छ वा बिहान दौडिरहनु भएको छ ।

तपाईँ ब्रह्माण्डको धड्कन महसुस गर्न सक्नुहुन्छ त्यही काम ऊर्जा हो । नदीमा पौडिँदै हुनुहुन्छ, नदी कामुक हुँदै जान्छ, सहवास गर्नुमात्र एक काम र घटना होइन, जुनसुकै काम पनि तपाईँको शरीरबिना कुनै निषेधको समग्रतासहित स्पन्दित हुन्छ भने त्यही काम हो । जब म काम–ऊर्जा शब्दको प्रयोग गर्छु, मेरो अभिप्राय यसको समग्रताको अनुभवसँग छ । कामइन्द्रियको सुख त कामको क्रियाहरूमा एक हो । यो यति महत्वपूर्ण भएको छ कि हामी कामका अन्य क्रियालाई बिर्सिसकेका छौं । सत्य के हो भने तपाईंका तथाकथित महात्माले तपाईँलाई अति काम केन्द्रित बनाइदिएका छन् । सम्पूर्ण दोष ती सन्त महात्माको हो । उनीहरू दोषी हुन्, अपराधी हुन् । उनीहरूले तपाईँलाई कहिल्यै बताएनन् कि वास्तविक काम ऊर्जा के हो ? विस्तारै काम ऊर्जा जनइन्द्रियमा केन्द्रित हुँदै गएको छ । यो समग्र नभएर स्थानीय बन्न गएको छ । स्थानीय कामुकता भद्दा कुरा हो । यसले तपार्इँलाई राहत दिन सक्छ । तर, कहिल्यै ‘अर्गाज्म’ वा कामको उच्चतम आनन्द अनुभूतिसम्म पुर्याउन सक्दैन । सबै स्खलन चरम अवस्था होइन र प्रत्येक स्खलनमा शिखर अनुभव हुँदैन । स्खलन कामइन्द्रियसम्म मात्र हो । अर्गाज्म काम–ऊर्जाको घटना हो भने शिखर अनुभव आध्यात्मिक हो । जब कामइन्द्रियसम्म सीमित हुन्छ तब तपाईँ राहत महसुस गर्नुहुन्छ, ऊर्जा फाल्नुहुन्छ, प्राप्त केही गर्नुहुन्न । यो साँच्चै मुर्खता हो यो त त्यस्तै राहत हो जुन राम्रो हाच्छ्यु गर्दा प्राप्त हुन्छ योभन्दा बढी केही होइन ।

यसमा अर्गाज्म (चरम आनन्द) विल्कुल छैन किनकि तपाईँको समग्र शरीर स्पन्दित छैन । तपाईँ नृत्यमा हुनुहुन्न । तपाईँ समग्रतामा समाहित हुनुभएको छैन, त्यसमा पवित्रता छैन । यो आंशिक हो, आंशिकता अर्गाज्म हुन सक्दैन । अर्गाज्म तब मात्र सम्भव छ जब समग्र देह यसमा समाविष्ट हुन्छ । तपाईँभित्रको एक–एक अणु नृत्य गर्ने गर्छ, जब तपाईँभित्र एक मधुर वाद्ययन्त्र निर्मित भएको छ र जब सब चिज नृत्य गरिरहेको छ, अनि मात्र अर्गाज्मको अवस्था हुन्छ । तर सबै अर्गाज्म अस्तित्वको समग्रतामा सम्मिलित हुन्छ तब त्यो शिखर अनुभव हो र मान्छेहरूले स्खलनलाई चुनेका छन् र अर्गाज्मलाई बिर्सेका छन्, शिखर अनुभवलाई पुगिँदैन तब निम्न अवस्थामा नै सीमित हुनुपर्छ । जब श्रेष्ठतम अवस्थाको अनुभव हुन्छ तब निम्नस्तरको स्वयम् बिसर्जित हुने गर्छ । तपाईँले बुझ्न सक्नुभयो भने सेक्स रूपान्तरित हुनेछ । तर, काम–उर्जा हैन । तपाई झन् काम ऊर्जाले भरिनुहुनेछ । सेक्स कहाँ जान्छ र ? त्यो तपाईँको काम–ऊर्जा हैन । तपार्इँ झन् काम–ऊर्जाले भरिनुहुनेछ । तपाईँ अझै गहनतामा बाँच्न सक्नुहुनेछ । अझैज्वलंत भएर एक ठूलो लहर समान जिउनुहुनेछ र यी स–साना लहर हराउँदै जानेछन् । तपाईँ एक तुफानमा रूपान्तरित हुनुहुनेछ । हावाको महान झोका बन्नुहुनेछ, जुन वृक्ष एवं पहाडलाई छिचोलेर अगाडि बढ्नुहुनेछ । तपाईँ एक ज्वारभाटा, एक बाढी झैं बन्नुहुनेछ । तपाईँको ज्योतिशिखा एकै साथ दुवैतिरबाट प्रज्वलन हुनेछ । त्यो अवस्थाको कुनै एक क्षण पनि तपार्इँ जिउन पाउनुभयो भने त्यो अदभूत हुनेछ, तपाईँले राहतको स्वाद चाख्नु हुनेछ ।

ओशोको ‘सम्भोग’ पुस्तकबाट साभार

Tags :
प्रतिक्रिया दिनुहोस