माओवादीको कारण शान्ति सम्झौता टुंगोमा पुगेन : मन्त्री बलायर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

माओवादीको कारण शान्ति सम्झौता टुंगोमा पुगेन : मन्त्री बलायर


७ मंसिर २०७४, बिहिबार


डोटी । भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले नेकपा माओवादी केन्द्रकै कारण बृहत् शान्ति सम्झौताको पूर्ण कार्यान्वयन हुन नसकेको आरोप लगाएका छन् ।

‘बृहत् शान्ति सम्झौता भएको एक दशक नाघिसक्दा पनि सम्झौताको मुख्य पक्षधर माओवादी केन्द्रको नेतृत्वकै कारण शान्ति प्रक्रिया अझै टुंगोमा पुग्न सकिरहेको छैन,’ नेपाली कांग्रेस डोटीको बोगटान गाउँपालिका-६ गगुडामा आयोजित चुनावी सभामा बोल्दै मन्त्री बलायरले भने, ‘मुलुक अझै द्वन्द्वको खतराबाट उम्कन सकिरहेको छैन् । अझै बम-बारुद पड्किरहेका छन् । जनता त्रासमुक्त हुन सकिरहेका छैनन् ।’

बृहत् शान्ति सम्झौताको तत्कालीन राज्यपक्ष अर्थात् नेपाली कांग्रेसले शान्ति प्रक्रियाको मर्मअनुरुप काम गरिरहेको पनि मन्त्री बलायरले बताए । उनले भने, ‘शान्ति सम्झौताको मर्मअनुरुप कांग्रेसले आफ्नो भूमिका निर्वाह गरिसकेको छ । माओवादीलाई मूलधारमा ल्याउनका लागि कांग्रेसले धेरै कुरा गुमाएका छौँ । राज्यको ठूलै ढुकुटी रित्तिएको छ ।’

द्वन्द्वमा खल्बलिएको समाज मिलाउन र द्वन्द्वको निरुपण गर्दै दिगो शान्तिको अभियानमा काँग्रेस जुटिरहेको उनले बताए । ‘हामी विगतका तीता घाउमा मल्हम लगाउँदै दिगो शान्ति कायम गर्ने अभियानमा छौँ । फाँटेका मन जोड्ने अभियानमा छौँ । सँगै लोतकन्त्रको सुदृढीकरण र आर्थिक समृद्धिको बाटोमा अघि बढिरहेका छौँ,’ मन्त्री बलायरले भने । रासस

Tags :
प्रतिक्रिया दिनुहोस