‘कर चुहावट र छलीमा क्षम्य गर्न नसकिने’- सचिव अधिकारी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

‘कर चुहावट र छलीमा क्षम्य गर्न नसकिने’- सचिव अधिकारी


७ मंसिर २०७४, बिहिबार


काठमाडौं । अर्थ मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले कर चुहावट र छलीका विषयमा कहिल्यै पनि क्षम्य गर्न नसकिने बताएका छन् ।

आन्तरिक राजश्व विभाग र नेपाल उद्योग वाणिज्य महासंघद्वारा आज यहाँ आयोजित ‘छैटौँ राष्ट्रिय कर दिवस एवं कर सप्ताहको समापन’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले करदाताका सेवासुविधा र अनावश्यक झन्झटलाई हटाउन सरकार तयार भए पनि कर चुवाहट र छलीलाई क्षमा दिन नसकिने बताए ।

अर्थ सचिव अधिकारीले राजश्व प्रशासन सक्षम र चुस्त–दुरुस्त राखेर लक्ष्य हासिल गर्नका लागि सरकार लागिपरेको बताए । उनले केही दोहोरो कर देखिएको त्यसलाई समाधान गर्नेतर्फ आफूहरु अग्रसर भएको बताए ।

सचिव अधिकारीले सूचना प्रविधिमार्फत करलाई इलोक्ट्रोनिक्स पेमेन्ट (विद्युतीय भुक्तानी) प्रणालीमा लैजान थालेको जानकारी गराए । उनले करदातालाई सहयोग पुर्याउन चाँडै नै संघीय राजश्व प्रशासन विस्तार गर्ने योजना रहेको जानकारी गराए ।

सचिव अधिकारीले आर्थिक वृद्धिदर बिना मुलकले समृद्धि हासिल गर्न नसक्ने भन्दै आर्थिक वृद्धिको नेतृत्व गर्न निजी क्षेत्रको सहयोग रहनुपर्ने आवश्यकता रहेको औँल्याए ।

कार्यक्रममा राजश्व व्यवस्थापन महाशाखाका सहसचिव शोभाकान्त पन्तले डिजिटल भुक्तानी प्रणालीमा लगेर करदाताका समस्या समाधान गर्ने प्रयास भइरहेको बताए । उनले आगामी आर्थिक वर्षदेखि घरबहाल करदातालाई पनि ऐनमा समावेश गर्ने जानकारी गराए ।

कार्यक्रममा आन्तरिक राजश्व विभागका महानिर्देशक किशोरजंग कार्कीले कर कानूनलाई सरल बनाइने बताए । उनले आयकर, मूल्यअभिवृद्धि कर र अन्तःशुल्क करलाई एउटै कानूनमा ल्याउन थालिएको बताए ।

कार्यक्रममा महासंघका अध्यक्ष भवानी राणाले अधिकतम करदातालाई समावेश गर्न खालको कानून ल्याउनुपर्नेमा जोड दिए ।

महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले कर प्रशासनबाट टाढा बस्न खोज्ने व्यवसायीलाई करको दायरामा ल्याउन पहल गर्नुपर्ने बताए । कार्यक्रममा उपत्यकाका २५ उत्कृष्ट करदाता र आन्तरिक राजश्व विभाग अन्तर्गतका १९ जना कर्मचारीलाई सम्मान गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस