मतदाताको लस्कर मजदुरी गर्न भारततर्फ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मतदाताको लस्कर मजदुरी गर्न भारततर्फ


७ मंसिर २०७४, बिहिबार


काठमाडौं । महाबु गाउँपालिका–६, रानीवन दैलेखका ५२ वर्षीय शेरबहादुर सिंह बुधबार नेपाल–भारत सीमानाका जमुनाह हुँदै भारत पसे । उनका साथमा ८ जना दैलेखी पनि सिमलातर्फ लागे । निर्वाचन नजिकिए पनि यो नाका हुँदै मजदुरीका लागि बिदेसिनेको संख्या दिनहुँ बढ्दो छ ।

निर्वाचनको माहोलमा बिदेसिनुपर्दा दुःख लागेको उनीहरू बताउँछन् । मतदानमा सहभागी हुने इच्छा हुँदाहुँदै पनि बाध्यताले बिदेसिनुपरेको दैलेख रानीवनका छविलाल शाहीले बताए । ‘मतदान गर्न भनेर भोको बस्न भएन, पेट पाल्नका लागि भारत नगई अरू उपाय छैन,’ उनले भने, ‘नेताहरूले देशमै रोजगारी सिर्जना गर्न सक्ने हो भने यसरी कोही पनि बिदेसिनुपर्दैन । तर, चुनावमा आश्वासन दिन खप्पिस नेताहरूको व्यवहार अर्कै हुन्छ ।’ परिवारको पेट पाल्ने दायित्व आफ्नै काँधमा रहेको छविलालले बताए ।

५२ वर्षीय शेरबहादुर पनि स्वदेशमा काम गर्ने अवसर नपाएकै कारण भारततर्फ लागेका हुन् । उनी मजदुरीका लागि भारत जाने र बर्षमा केही समयका लागि नेपाल फर्कने गर्छन् । यसरी नै जिन्दगी चलेको लामो समय भयो । यसबीच धेरैपटक निर्वाचन भए । उनले पनि भोट खसाले । तर गरिब जनताको पक्षमा काम गर्ने नेता कोही नदेखेको उनको गुनासो छ । ‘गरिवलाई के को चुनाव लाग्ने हो, चुनाव त धनी र नेताका लागि पो आएको हो,’ शेरबहारले भने, ‘चुनावले भोको पेट भरिने होइन, नेताको के आशा गर्नु ?’

कामका लागि भारत जाने मौसम यही भएकाले आफुहरू भारत हिडेंको शेरबहादुरले बताए । भोको पेट भर्ने चिन्ताको निकास राजनीतिले निकाल्न नसक्ने उनको ठम्याई छ । ‘चुनावभन्दा भोको पेट भर्ने चिन्ता बढी छ । हाम्रोबारेमा सोच्ने कोही भए पो । नेताहरूले आश देखाउन थालेको धेरै भयो । तर, भारत गएर नोकरी गर्नुबाहेक हामीसामु अर्को विकल्प रहेन ।’

भोट हाल्ने दिन कुर्दासम्म छाक काटिने भएका कारण अहिल्यै विदेशिएको बताउँछिन् कोहलपुर नगरपालिका–१२, खड्गवारकी लक्ष्मी परियार । उनका श्रीमान् पनि भारतमै रोजगारी गर्छन् । ३० वर्षकी परियार छोरालाई लिएर श्रीमान् भेट्न गएकी हुन् । भारतको लद्दाखमा रहेका आफ्ना श्रीमान्ले काम मिलाईदिने आशा उनलाई छ । ‘कामको खोजीमा हिडेँकी हुँ ,’ परियारले भनिन्, ‘नेपालमा काम गर्ने अवस्था भएको भए किन परिवारै भारत छिर्नुपर्ने थियो ?’

नेताहरूको आश्वासनबाट वाक्क भनेको प्रतिक्रिया उनले दिइन् । विगतमा आफुले खसालेको विश्वासको भोटलाई नेताहरूले दुरुपयोग गरेको उनको गुनासो छ । ‘देशको विकास भए पो भोट हालेको उपलब्धि हुन्छ । भोट दिएपछि नेताहरू मुख देखाउँदैनन् । यसरी भोटको दुरुपयोग गर्नुभन्दा भारत जानु नै उपयुक्त लाग्यो, ’ उनले भनिन् ।

निर्वाचनको मिति नजिकिदै गर्दा भारतबाट नेपाल आउने भन्दा कामको खोजीमा भारत जानेको संख्या धेरै भएको इलाका प्रहरी कार्यालय जमुनहाले जनाएको छ । निर्वाचनको मुखमा जुम्ला, सुर्खेत, दैलेख, जाजरकोट, अछाम, कालिकोटका सर्वसाधारण कामको खोजीमा भारत जाने गरेको इलाका प्रहरी कार्यालय जमुनहाका इन्चार्ज प्रहरी नायब निरीक्षक सुधीर खड्काले जानकारी दिए ।

उनले दैनिक सरदर ३ सय नेपाली कामको खोजीमा भारत जाने गरेको बताए । भोट हाल्नका लागि भारतबाट दैनिक सरदर ५०–६० जना नेपाली घर फर्किने गरेको उनले बताए । ‘चुनाव आउँदै गर्दा भारत जानेको संख्या बढेको छ, दैनिक २ सयदेखि ३ सय नेपाली भारत गएको तथ्यांक छ,’ खड्काले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस