अन्तिम कसरतमा उम्मेदवार « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अन्तिम कसरतमा उम्मेदवार


६ मंसिर २०७४, बुधबार


विराटनगर । प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणअन्तर्गत मंसिर १० गते हुने प्रदेश नम्बर १ का सात पहाडी जिल्लामा चुनावी अभियान अन्तिमतिर पुगेको छ । मौन अवधि शुक्रबारअघि नै उम्मेदवारले मतदातालाई रिझाउन सबै प्रयास थालेका छन्। निर्वाचन कार्यालयले पनि प्रत्येक बुथमा मतदान समाग्री र कर्मचारी पठाउन सुरु गरेको छ।

प्रदेश नम्बर १ का ताप्लेजुङ, पाँचथर, भोजपुर, संखुवासभा, खोटाङ, ओखलढुंगा र सोलुखम्बुमा आइतबार मतदान हुँदैछ। प्रदेश नम्बर १ को मोरङ, सुनसरी, झापा, इलाम, धनकुटा, उदयपुर र तेह्रथुममा दोस्रो चरणअन्तर्गत मंसिर २१ गते मतदान हुँदैछ। चुनाव प्रचारका क्रममा भोजपुर र संखुवासभामा उम्मेदवार लक्षित आक्रमण भएपछि पहिलो चरणमा हुने निर्वाचनका जिल्लामा सुरक्षा व्यवस्था मजबुत पारिएको प्रदेश नम्बर १ प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । सबै जिल्लामा तीन घेरा सुरक्षामा मतदान हुने सो कार्यालयले जनाएको छ ।

भोजपुरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र इङनामका अनुसार मतदान अधिकृतलाई तालिम दिने र मतपत्र पठाउने काम भइरहेको छ । निर्वाचनका लागि भोजपुरमा ११ सयभन्दा बढी कर्मचारी खटिएका छन् ।

मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तीन दिनभित्रमा तालिम दिई सम्बन्धित क्षेत्रमा खटाइनेछ । निर्वाचन सुरक्षित बनाउन अन्यत्रबाट ठूलो संख्यामा सुरक्षाकर्मी झिकाइएको छ । निर्वाचनमा अति संवेदनशील, संवेदनशील ठाउँलाई विशेष सुरक्षा निगरानीमा राखिएको छ । भोजपुरका ८७ वटा मतदान स्थलका १ सय ४८ वटा मतदान केन्द्रमा १ लाख १३ हजार मतदाता छन् ।

उम्मेदवारहरु भने मत माग्न गाउँ केन्द्रित भएका छन् । वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन आफ्नो मत बचाउने र अरुको मत खोस्ने रणनीतिमा जुटेका छन् । प्रदेश (क) मा सबैभन्दा तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । अन्तिम समयमा उमेदवारहरु घरदैलो र चुनावी कार्यक्रममा व्यस्त बनेको तरुण दल भोजपुरका सचिव ज्योति पौडेलले बताए ।

उम्मेदवारहरुले एकै दिनमा तीनचार वटा कार्यक्रममा समेत सहभागी हुने गरेका छन् । चुनाव आउन केही दिन मात्र बाँकी रहेकाले गाउँगाउँमा रहेर मतदातासँगको भेटघाट तीव्र पारिएको एमाले प्रचार विभाग प्रमुख मक्कर खड्का बताए । आजको नागरिक दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस