उपत्यकामा सुरक्षा बढाइयो « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

उपत्यकामा सुरक्षा बढाइयो


६ मंसिर २०७४, बुधबार


काठमाडौं । निर्वाचन विरोधी समूहको सक्रियताका आधारमा प्रहरीले काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये ६ वटालाई जोखिमको सूचीमा राखेको छ ।

निर्वाचन बिथोल्न खोज्ने नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको सक्रियता, निर्वाचन बिथोल्न अन्य समूह पनि सक्रिय हुनसक्ने आधार, घनाबस्ती र छिमेकी जिल्लाको सुरक्षा अवस्था आधारमा महानगरीय प्रहरी कार्यालयले ६ वटा निर्वाचन क्षेत्र जोखिममा रहेको आकलन गरी सुरक्षाकर्मी परिचालन र अन्य सक्रियता बढाएको छ ।

महानगरी प्रहरी आयुक्त कार्यालयबाट प्राप्त जानकारी अनुसार काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमध्ये १०, ७, ६, ३ र २ तथा ललितपुरका ३ मध्ये निर्वाचन क्षेत्र १ मा अन्य क्षेत्रको तुलनामा सुरक्षा चुनौती बढ्नसक्ने निष्कर्ष निकाल्दै सुरक्षाकर्मीको संख्या बढाइएको छ ।

सिन्धुपाल्चोकसँग सीमा जोडिएकाले काठमाडौंका निर्वाचन क्षेत्र २ र ३ लाई प्रहरीले सुरक्षा दृष्टिकोणले जोखिमक्षेत्रमा राखेको हो । यी दुई निर्वाचन क्षेत्र सिन्धुपाल्चोकको भोटेचौर र हैबुङसँग जोडिन्छन् ।

नुवाकोट र धादिङगसँग सीमा जोडिएका निर्वाचन क्षेत्र नम्बर ६ र ७ तथा मकवानपुरसँग जोडिएको क्षेत्र नम्बर १० लाई समेत प्रहरीले सुरक्षा दृष्टिकोणले संवेदनशील सूचीमा राखेको छ । मकवानपुरसँग सीमा जोडिएको ललितपुरको क्षेत्र नम्बर १ मा विप्लव समूहको सक्रियता रहेको भन्दै प्रहरीले जोखिम सूचीमा राखेर सोही अनुसार सुरक्षा सतर्कता र परिचालन बढाएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस