‘गृहमन्त्री खोइ ?’ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

‘गृहमन्त्री खोइ ?’


५ मंसिर २०७४, मंगलबार


काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले उम्मेदवार र दलका कार्यक्रमलाई लक्ष्य गरी भइरहेका आक्रमण नरोकिए निर्वाचन कठिन हुने बताएका छन् ।

आसन्न निर्वाचन र शृंखलाबद्ध हिंसात्मक घटनाका विषयमा निर्वाचन आयोग र राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीबीच सोमबार भएको परामर्शक्रममा यादवले सुरक्षा दृष्टिले निर्वाचन कठिन बन्दै गएको बताएका हुन् । ‘हिजोसम्म सरकारले निर्वाचनमा सुरक्षा दिन्छ भन्नेमा म विश्वस्त थिएँ तर आज कठिन देखेको छु,’ उनले भने ।

प्रधानमन्त्री देउवा स्वयंले गृह मन्त्रालयको समेत कार्यभार लिँदा सुरक्षामा ‘ध्यान नपुगेको’ विषयमा दुवै आयोगका पदाधिकारीले गम्भीर विमर्श गरेका थिए ।  गृहमन्त्रीजस्तो महत्वपूर्ण पदको जिम्मेवारी प्रधानमन्त्रीले अरू कसैलाई सुम्पिनु राम्रो हुने उनीहरूको सुझाव छ । ‘प्रधानमन्त्री निर्वाचनका लागि देश-दौडाहामा जाने, मुलुकमा बढ्दो हिंसात्मक घटनाको समीक्षा र त्यसको उपयुक्त निकास खोज्न नसक्ने परिस्थितिबाट शान्ति-सुरक्षा हुन नसकेको’ उनीहरूले औंल्याएका छन् ।

मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले गृहमन्त्री नहुँदा सुरक्षामा प्रश्न उठेको बताए । ‘प्रधानमन्त्री चुनावमा खटिनुभएको छ, गृहमन्त्री खोइ ? ’ उनले भने, ‘गृहमन्त्री नियुक्ति नभएको विषयमा निर्वाचन आयोगसमेत गम्भीर हुनुपर्छ ।’

मानवअधिकार आयोग सदस्य गोविन्द पौडेलले १५ दिनयता मुलुकका तनहुँ, रोल्पा, रुकुम, नुवाकोट, रौतहट, बारालगायत दर्जनौं जिल्लामा गम्भीर र करिब तीन दर्जन जिल्लामा सामान्य घटना घटेको तथ्यांक प्रस्तुत गरेका थिए । पौडेलले बम र एम्बुस विस्फोटका घटनाले राजनीतिक दलका उम्मेदवार, कार्यकर्ता र सवारीसाधन तोडफोड हुन पुगेको जानकारी गराएका थिए ।

पौडेलले भने, ‘राष्ट्रिय मानवअधिकार आयोगको काम घटना भएको क्षेत्रमा स्थलगत भ्रमण गरी रिपोर्ट तयार गर्ने र प्रधानमन्त्री कार्यालयमा बुझाउने हो । प्रधानमन्त्री कार्यालयका सचिवले आयोगको रिपोर्ट गृहमा पठाउने हो र गृहले त्यसअनुसार काम गर्ने हो तर सरकारको काम-कारबाही नै चित्तबुझ्दो छैन ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस