प्रदेश मुकाम ‘चुनावपछि’ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रदेश मुकाम ‘चुनावपछि’


४ मंसिर २०७४, सोमबार


काठमाडौं । सातै प्रदेशको अस्थायी मुकाम तोक्न सरकारद्वारा गठित उच्चस्तरीय समितिले सरकारलाई विकल्पसहित सम्भाव्य ठाउँको प्रस्ताव गरे पनि ‘भोट बैंकमा असर पर्ने’ भन्दै सरकार हच्किएको छ ।

एक ठाउँमा अस्थायी मुकाम तोक्दा अर्को स्थानका मतदाता भड्कन सक्ने निष्कर्ष निकाल्दै प्रधानमन्त्री शेरबहादुर देउवाले हाल प्रदेशको मुकाम तोक्ने काम थाती राखेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सम्भवतः निर्वाचनपछि मात्रै सातै प्रदेशको अस्थायी मुकाम तोकिनेछ ।

प्रधानमन्त्री कार्यालयका संघीयता तथा शासकीय सुधार हेर्ने सचिव खगराज बरालले सम्भवतः निर्वाचनलगत्तै अस्थायी मुकाम तोकिने बताए ।

निर्वाचनलगत्तै मुख्यमन्त्री र मन्त्री आउने भए पनि उनीहरू बस्ने अस्थायी मुकाम तोक्न र प्रदेश प्रमुख नियुक्त गर्न सरकार असमर्थ देखिएको छ । तर, प्रधानमन्त्री कार्यालयका सचिव बरालले दोस्रो चरण निर्वाचन २१ मंसिरमा सम्पन्न हुनासाथ प्रदेशको अस्थायी मुकाम तोक्दा पनि खासै समस्या नपर्ने बताए ।

‘२१ गते निर्वाचन सकेपछि २२ गते नै अस्थायी मुकाम तोकेर प्रदेश प्रमुख पठाउँदा पनि काम सम्पन्न गर्न सकिन्छ । त्यसैले अहिले नतोक्दैमा कुनै समस्या पर्दैन’, उनले भने । उनका अनुसार सरकार २१ मंसिरपछि मात्रै प्रदेशको अस्थायी मुकाम तोक्ने निष्कर्षमा पुगेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस