लोडसेडिङ बढ्न सक्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

लोडसेडिङ बढ्न सक्ने


३ मंसिर २०७४, आइतबार


काठमाडौं । भारतको सर्वोच्च अदालतले शुक्रबार पेटकोक र फर्नेस आयलमा आधारित विभिन्न उद्योगमा प्रतिबन्ध लगाउने आदेश दिएलगत्तै शुक्रबारै राति १२ बजेदेखि टनकपुरबाट आयात भइरहेको ३० मेगावाट बिजुली ठप्प भएको छ ।

यसको असर ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनमार्फत नेपालले आयात गरिरहेको बिजुलीमा पनि पर्ने देखिएको छ । टनकपुरको पश्चिम नेपालको कोहलपुरसम्म आपूर्ति हुँदै आएको थियो । टनकपुरबाट बन्द भएपछि प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमार्फत अन्यत्र खपत हुने बिजुली त्यता पठाउँदा उपत्यकालगायत प्रमुख सहरमा लोडसेडिङ हुने सम्भावना बढेको छ ।

भारतको पीटीसीसित नेपाल विद्युत् प्राधिकरणले महाकाली सन्धिअन्तर्गत निःशुल्क पाउने १२ देखि १६ मेगावाटबाहेक थप ३० मेगावाट बिजुली व्यापारिक तवरमा खरिद गर्ने सम्झौता गरेको छ । तर, पीटीसीले टनकपुर विन्दुबाट नेपाललाई त्यहाँको श्री सिमेन्ट लिमिटेडबाट उत्पादित बिजुली दिएको थियो ।

भारतीय सर्वोच्च अदालतको आदेशसँगै शुक्रबार मध्यरातदेखि उक्त उत्पादन बन्द भएको र टनकपुरबाट आइरहेको ३० मेगावाट पनि ठप्प भएको प्राधिकरण विद्युत् व्यापार विभागका प्रमुख प्रवल अधिकारीले बताए । श्री सिमेन्टले पेटकोक प्रयोग गरी बिजुली उत्पादन गर्दै आएको थियो र उक्त सहउत्पादन (बाइ प्रडक्ट) पीटीसीसित विद्युत् खरिद सम्झौता (पीपीए) गरी नेपाललाई टनकपुर विन्दुबाट नेपाललाई दिँदै आएको थियो ।

त्यसैगरी, पेटकोकमा लागेको प्रतिबन्धबाट ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट नेपालले आयात गरिरहेको बिजुलीमा पनि असर पर्ने देखिएको छ । उक्त प्रसारण लाइनबाट यस महिना नेपालले सय मेगावाट बिजुली आयात गरिरहेको छ, जसमध्ये २५ मेगावाट उही पेटकोक प्रयोग गरी बिजुली उत्पादन गर्ने श्री सिमेन्ट लिमिटेडकै उत्पादनबाट खरिद गर्ने सहमति छ । नेपाललाई एनबीबीएन (एनटीपीसी विद्युत् व्यापार निगम) ले ढल्केबरबाट बिजुली निर्यात गर्दै आएको छ ।

पेटकोकमा लागेको प्रतिबन्धले भारतमा कोइला र प्राकृतिक ग्यासको मूल्य अकासिने प्रस्ट छ । यसले एकातिर तापीय विद्युत् गृहबाट उत्पादन हुने बिजुली नेपालले प्राप्त गर्न कठिनाइ पर्ने देखिन्छ भने भारतीय विद्युत् महँगिने संकेत देखाएको छ । टनकपुरबाट नेपालले प्रतियुनिट ३.५५ (भारु) मा बिजुली खरिद गर्दै आएको थियो । यता, ढल्केबरको बिजुली भने प्रतियुनिट ३.६० (भारु) छ ।

भारतीय विद्युत् एक्सचेन्ज बजारमा विद्युत्को भाउ केही महिनादेखि बढ्दै आएको थियो । भारतको विद्युत् प्रवाह नामको वेबसाइटअनुसार शुक्रबार बिजुलीको औसत बजार क्लियरिङ मूल्य ३.७४ (भारु) पुगेको थियो भने त्यहाँका विभिन्न राज्यमा एरिया क्लियरिङ मूल्य ४.६९ (भारु) थियो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस