निर्वाचनले जोडिए समुदाय « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

निर्वाचनले जोडिए समुदाय


१ मंसिर २०७४, शुक्रबार


काठमाडौं । एमाले उम्मेदवार अच्युत मैनाली बुधबार बाराको सीमावर्ती गाउँ सिम्रौनगढको गोलागन्ज टोलमा घरदैलो गरिरहेका थिए । नेपाली छोटी भन्सार कटेर पुगिने दशगजा छेउकै गाउँमा एमाले–माओवादी झन्डा हल्लाउँदै ट्रयाक्टर, जिप हुइँकिइरहेका थिए । भोजपुरी गीत घन्काएर लावालस्करसहित तल्लो मधेस छिरेका मैनालीको यो नै घरदैलो सुरुआत थियो ।

‘उत्तर चुरेदेखि दक्षिण सीमासम्म निर्वाचन क्षेत्र छ । कहाँबाट सुरु गर्ने भन्ने नसोची सुदूर दक्षिणतिर आइयो,’ बारा १ का उम्मेदवार मैनालीले भने, ‘एमाले मधेसविरोधी भन्ने भ्रम फैलाइएको छ । त्यसमाथि म पहाडे समुदायको, बढ्ता मन जित्नुपर्ने यतै हो । र, यो सम्बन्ध सुमधुर बनाउने अवसरसमेत भएकाले मधेसको आँगन सबैभन्दा पहिला रोजेको हुँ ।’

ठीक उल्टो– त्यही क्षेत्रका राजपा उम्मेदवार रामकिशोर यादवले उत्तरमा पर्ने निजगढबाट साताअघि निर्वाचन अभियान थाले । ‘पहाडी समुदायका दाजुभाइ–दिदीबहिनीले मेरो नाम सुन्नुभएको थियो, अनुहार देख्नुभएको थिएन । म कस्तो छु, को हुँ भन्ने उहाँहरूमा चासो पाएँ,’ उनले भने, ‘मलाई एकचोटिलाई विश्वास गर्नुहोस् भनेर उहाँहरूसँग हात जोड्नेछु । आशा छ, राम्रै भोट पाउनेछु ।’ उनी बिहीबार कोल्बीमा प्रचारप्रसारमा थिए । त्यो थारू बाहुल्य मिश्रित बसोबास इलाका हो ।

बारा र पर्सामा प्रतिनिधिसभामा ४र४ निर्वाचन क्षेत्र छन् । दुवै जिल्लाका आठै क्षेत्र उत्तरदेखि दक्षिणसम्म छुवाइएका छन् । दुवै जिल्लामा उत्तरतिर पहाडी, बीचमा थारू र दक्षिणतिर मधेसी समुदायको बसोबास छ । निर्वाचन क्षेत्र निर्धारण यसरी गरियो, आफ्नै समुदायकै मतका भरमा मात्र कसैले पनि जित्ने स्थिति रहेन । उम्मेदवार र नेताहरू अर्को समुदायमा गई घुलमिल हुनुपर्ने भएकाले रहलपहल मनमुटाव हटाई सामाजिक सद्भाव कायम गराउन यो निर्वाचन उपयोगी बनेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस