बुढीगण्डकीबारे मन्त्रिपरिषद्‍मा चर्काचर्की « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बुढीगण्डकीबारे मन्त्रिपरिषद्‍मा चर्काचर्की


२८ कार्तिक २०७४, मंगलबार


काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारका दुई वरिष्ठ जिम्मेवार मन्त्रीले दिएका यी परस्पर विरोधी अभिव्यक्तिले सोमबारको मन्त्रिपरिषद् बैठकमा बुढीगण्डकी आयोजनाबारे चर्को विवाद भएको देखाएका छन् ।

मन्त्रिपरिषद् बैठकमा उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाले विभागीय मन्त्रीको हैसियतमा चिनियाँ सरकारी कम्पनी गेजुवालाई बुढीगण्डकी आयोजना बिनाप्रतिस्पर्धा दिएको भन्दै खारेजीको ठाडो प्रस्ताव लगे । असोज ९ गते कृषि तथा जलस्रोत र सार्वजनिक लेखा समितिको संयुक्त बैठकले बुढीगण्डकी गेजुवालाई बिनाप्रतिस्पर्धा दिएको भन्दै निर्णय खारेजीको निर्देशन दिएको थियो । त्यही निर्देशनलाई आधार मानेको भन्दै मन्त्री थापाले प्रस्ताव मन्त्रिपरिषद्मा लगेका हुन् ।

बैठकमा उक्त प्रस्तावमा प्रधानमन्त्री शेरबहादुर देउवाले सैद्धान्तिक सहमति जनाए तर निर्णय लेख्ने बेलामा भने अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो गर्दा सरकारलाई अप्ठयारो पर्न सक्ने तर्क गरेपछि मन्त्री थापा झोक्किन पुगेका थिए । थापा निर्णय गर्नुपर्ने अडानमा रहे भने अर्थमन्त्री कार्कीले निर्णय गर्न नपर्ने तर्क गरेपछि दुवै मन्त्रीबीच बैठकमा चर्काचर्की पर्यो ।

देउवाका सबैभन्दा भरोसायोग्य मन्त्रीका रुपमा चिनिएका कार्कीले अडान कसेपछि प्रधानमन्त्री देउवाले पनि निर्णय लिन सकेनन् । प्रधानमन्त्री देउवाले निर्णय लिन नसकेपछि ‘विभागीय मन्त्रीको प्रस्तावमा हस्तक्षेप गरेको’ भन्दै थापा आक्रोशित भए । उक्त निर्णय नभएमा आफ्नो पार्टी सरकारबाटै बाहिरिने चेतावनी पनि थापाले तत्कालै दिए तर पनि अर्थमन्त्री कार्कीले सो निर्णय खारेज हुन नदिने भन्दै अडान राखिरहे ।

बैठकमा कार्कीको तर्क थियो, ‘अघिल्लो सरकारले गरेको निर्णय तत्कालै बदल्नु हुँदैन, यसले अन्तर्राष्ट्रिय क्षेत्रमा नकारात्मक सन्देश जान्छ ।’ उनले बुढीगण्डकीको लागत कम गर्न र सहुलियतपुर्ण ऋण लिन चीनको ‘ओबिआर कार्यक्रम’ भित्र उक्त परियोजना पार्नुपर्ने भन्दै मन्त्रिपरिषद्को साउन ३१ को निर्णय उल्लेख गर्दै गत भदौ १९ गते पत्र लेखेको पनि जानकारी गराए । थापाले भने संसदीय समितिको निर्देशन मान्नुपर्ने अडान राखिरहे ।

प्रधानमन्त्री देउवाले निर्णय लिन नसकेपछि मन्त्री थापा बैठक छाडेर हिडे । मन्त्रिपरिषद् बैठक छाडेर हिँडेका थापाले ‘अनियमित र हचुवा ढंगले गेजुवासँग गरिएको बुढीगण्डकी जलविद्युत् आयोजनाको सम्झौता संसदीय समितिहरुको निर्देशनबमोजिम आज बसेको मन्त्रिपरिषद् बैठकले खारेज गरेको छ’ भन्ने ट्विट गरिदिए । १०ः४७ बजे उक्त ट्विट गर्दा मन्त्रिपरिषद् बैठक नै सकिएको थिएन । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस