उपत्यकामा मेट्रो रेलको डिपिआर बनाउने निर्णय « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

उपत्यकामा मेट्रो रेलको डिपिआर बनाउने निर्णय


२८ कार्तिक २०७४, मंगलबार


काठमाडौं । लगानी बोर्डले उपत्यकाका दुई रुटमा चल्ने मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने निर्णय गरेको छ ।

सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बोर्ड बैठकले मेट्रो रेलको रुट नं. १ अन्तर्गत बूढानीलकण्ठ–सातदोबाटो–फास्ट ट्र्याक स्टेसन खण्डको सम्भाव्यता अध्ययन (डिएफएस) र डिपिआर तयार गर्ने जिम्मा रेल विभागलाई दिएको छ । रुट नं. २ अन्तर्गत नागढुंगा–कलंकी–कोटेश्वर–धुलिखेल खण्डको डिपिआर भने लगानी बोर्ड आफैँले गर्नेछ । दुवै प्रतिवेदन सार्वजनिक–निजी साझेदारीअन्तर्गत बुट प्रणालीमा अघि बढाइनेछ ।

बोर्डका कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले मेट्रो रेलको डिपिआर तयार गर्ने निर्णय चाँडै कार्यान्वयनमा आउने बताए । ‘उपत्यकामा मेट्रो रेल कुदाउने सपना पुरानै हो । यसअघि केही अध्ययन भएका थिए । विविध कारण थन्किए पनि अब यसले फेरि ब्युँझिने मौका पाएको छ । चाँडोभन्दा चाँडो बोर्डको निर्णय कार्यान्वयन हुन्छ,’ उनले भने ।

सिइओ अधिकारीले डिएफएस र डिपिआर तयारी मात्र नभई मेट्रो रेल निर्माण कार्य नै अघि बढाइने जानकारी दिए । ‘अहिले सम्भाव्यता र डिपिआर अध्ययनको जिम्मेवारी आएको छ । तयारी भएलगत्तै निर्माणको चरणमा प्रवेश गर्छौँ । त्यसका लागि आवश्यक लगानी जुटाउन सरकारलाई भनिनेछ, सँगै निजी क्षेत्रलाई आह्वान गरिनेछ,’ उनले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ

Tags :
प्रतिक्रिया दिनुहोस