मेची पहाडका मतदाता भन्छन्स– ‘सडक, खानेपानी र बिजुली देऊ’ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मेची पहाडका मतदाता भन्छन्स– ‘सडक, खानेपानी र बिजुली देऊ’


२७ कार्तिक २०७४, सोमबार


काठमाडौं । इलाम नगरपालिका–७, महभिरकी ५६ वर्षीया देउमाया राईले अहिलेसम्म भएका धेरै निर्वाचनमा भोट हालिसकिन् । तर, उनलाई चुनावका बेला उम्मेदवारले ल्याएर आउने नाराचाहिँ कहिल्यै नयाँ लाग्दैन । प्रदेश र प्रतिनिधिसभा सदस्य चुनावमा जितेर जाने नेताले गाउँमा के गरिदिए हुन्थ्यो जस्तो लाग्छ ? भन्ने जिज्ञासामा उनले उही पुरानो माग दोहोर्याइन्– सडक, पुल, खानेपानी र बिजुली ।

इलाम मात्र होइन, मेची पहाडका जिल्लामा वर्षौंदेखिका मुख्य समस्या र अभाव हुन् यी । गाउँमा सडक छैन, पुलपुलेसा छैनन्, खानेपानीका लागि संघर्ष गर्नुपरेको छ, बिजुली छैन । हरेक स्थानीय र संसदीय निर्वाचनमा दलहरूले ल्याउने अजेन्डा पनि यी विषयभन्दा फरक खासै छैनन् । तर, दलहरूले आफ्नो प्रतिबद्धता पूरा गर्न नसक्दा सर्वसाधारण वर्षौंदेखि तिनै पुराना माग दोहोर्याउन बाध्य छन् ।

मेचीका पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङमा सडक ठूलो समस्या छ । हिँउदभर मुस्किलले ल्यान्डरोभरसम्म चल्ने कच्ची सडक वर्षा याममा पूरै ठप्प हुन्छन् । वर्षामा सर्वसाधारणले सदरमुकाम आउजाउ गर्न दुईचार दिन लगाउनुपर्छ । खोलामा पुल नहुँदा यी जिल्लाका कतिपय गाउँलेको भेटघाट वर्षामा निकै पातलो हुन्छ । बिजुलीको सुविधा इलाम र पाँचथरमा सन्तोषजनक रहे पनि ताप्लेजुङका सबैजसो नागरिक ये सेवाबाट वञ्चित छन् । तीनटै जिल्लामा खानेपानीजस्तो आधारभूत आवश्यकता पूरा हुन सकेको छैन । त्यसैले वर्षौंदेखि एउटै अजेन्डा र समस्यमा दोहोर्याउन बाध्य छन् उम्मेदवार र सर्वसाधारण ।

‘गाउँगाउँमा बाटो छैन, बिजुली छैन । तरकारी फलायो डोकामा बोकेर बजार पु¥याउनुपर्छ । गाई पालेर दूध बनायो बिक्दैन । निकै दुःख छ गाउँमा,’ देउमायाले थपिन्, ‘बिहानदेखि बेलुकासम्म काम गर्नुपर्छ । भोट दिने बेला आयो भन्छन् फेरि । अहिले त म जनताको दुःख हेर्ने, बाटोघाटो, पुल, स्कुल बनाउने, केटाकेटीलाइ निःशुल्क पढाउने व्यवस्था गरिदिने नेता को होे भन्ने बुझेरमात्रै भोट हाल्छु ।’ उनलाई कुन पार्टीको कुन चुनावचिह्न हो भन्ने हेक्का छैन ।

इलामलाई सुगम जिल्लाका रूपमा बुझ्नेको संख्या धेरै हुनसक्छ तर स्थानीयले भोग्नुपरेको दुःख भने दलका नेताले कहिल्यै नबुझेको सर्वसाधारण बताउँछन् । ‘पार्टीमात्रै धेरै भए । विकास गर्नेखालको पार्टी आवश्यक छ । जसले खानेपानी, बिजुली, बाटोे टोलमा पुर्याउँछ, उसैलाई भोट दिन्छु,’ इलाम जमुनाका हरिप्रसाद भट्टराई भन्छन् । उनले गरिब, सुत्केरी, वृद्धवृद्धालाई हेरचाह गर्नेखालको सरकार बन्नुपर्ने बताए । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस