देउवाको किल्लामा धावा बोल्दै वाम « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

देउवाको किल्लामा धावा बोल्दै वाम


२७ कार्तिक २०७४, सोमबार


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको २७ वर्षदेखिको एकछत्र किल्ला भत्काउने उद्घोषसहित वाम गठबन्धन चुनावी मैदानमा उत्रिएको छ । डडेलधुरामा देउवाले २०४८ यता चुनावी परिणाम अरूको पोल्टामा पर्न दिएका छैनन् । गठबन्धनले देउवाविरुद्ध प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य खगराज भट्टलाई उतारेको छ ।

कांग्रेसको दुई खेमामा विभाजित जिल्लाको पार्टी पंक्ति र एमाले–माओवादीबीचको गठबन्धन देउवाका लागि कडा चुनौती बन्ने देखिन्छ । विभाजित पार्टी पंक्तिका कारण स्थानीय तह चुनावमा कांग्रेसले जिल्ला सदरमुकाम रहेको अमरगढी नगरपालिकासहित ३ वटा स्थानीय तहमा पराजय बेहोरेको थियो । स्थानीय तहमा एमाले र माओवादीले ल्याएको मत कांग्रेसको भन्दा ८ हजार बढी छ । पार्टीको मत बढाएर जित्न देउवालाई यस पटक ठूलै कसरत गर्नुपर्ने यहाँका बुद्धिजीवी बताउँछन् ।

पछिल्लो संविधानसभा चुनावमा देउवाले आफ्ना प्रतिस्पर्धी माओवादीकै भट्टभन्दा साढे ८ हजार मत बढी ल्याएका थिए । भट्ट ०६४ र ०७० दुवै संविधानसभा निर्वाचनमा देउवाका निकटतम प्रतिस्पर्धी थिए । ०६४ मा भट्ट जम्मा १३ सय मतले पराजित भएका थिए भने ०७० मा साढे ८ हजार मतले । त्यतिबेला एमालेका तारा जोशीले ७ हजार मत ल्याएका थिए । ०७० मा एमाले र माओवादी दुवैको भन्दा देउवाले डेढ हजार बढी मत ल्याएका थिए । भट्ट देउवाविरुद्ध तेस्रो पटक मैदानमा छन् ।

गठबन्धनका उम्मेदवार भट्टले चाररचार पटक प्रधानमन्त्री भएका देउवाले जिल्लाको बेरोजगारी समस्या समाधान गर्न नसकेको र आवश्यक मात्रामा विकास निर्माणका कामसमेत नगरेकाले डडेलधुरावासीले यस पटक उनको विकल्प खोज्ने दाबी गरेका छन् । २७ वर्षसम्म सत्ताको शिखरमा रहँदा पनि जिल्लामा उद्योगधन्दा खोल्न नसकेको, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिने प्राविधिक शिक्षालय र अस्पताल ल्याउन नसकेको आरोप लगाउँदै वाम गठबन्धनले यस पटक डडेलधुरावासीले देउवालाई पराजित गर्ने दाबी गरेको छ । देउवाले २७ वर्षमा गर्न नसकेको विकास आफूले ५ वर्षमा गर्ने दाबीसमेत भट्टको छ ।

कांग्रेसले भने डडेलधुरामा मात्र नभई सिंगै सुदूरपश्चिममा जति विकास निर्माण भएको छ, त्यसमा देउवाको एकल योगदान रहेको दाबी गर्दै डडेलधुरावासीले देउवालाई फेरि पनि भारी मतले जिताउने दाबी गरेको छ । राष्ट्रियस्तरका नेता देउवाको अगाडि भट्टको ‘पुडको छवि’ नै आफ्नो जितको बलियो आधार बन्ने दाबीसमेत कांग्रेसको छ । कांग्रेसले भट्टले जिते सांसद मात्र हुने हो, देउवाले फेरि जिते प्रधानमन्त्री हुन्छन् र उनले नै जिल्लाको बेरोजगारी अन्त्य गर्न र आर्थिक समुन्नतिका लागि थप कार्यक्रम ल्याउन सक्छन् भनेर गठबन्धनको धावालाई मत्थर गर्ने प्रयास गरिरहेको छ ।

देउवालाई गठबन्धनको चुनौती चिर्नभन्दा पनि दुईतिर फर्केको पार्टी पंक्तिलाई एकताबद्ध बनाउनु ठूलो सकस परिरहेको छ । डडेलधुरामा बहालवाला पार्टी सभापति कर्ण मल्ल र पूर्वसभापति रघुवर भट्टका दुई गुट छन् । देउवासित आफू मात्र निकट हुन यी दुवै गुटका नेता एक–अर्कालाई सिध्याउने खेलमा थिए । यी दुई गुटबीचकै विवादले पार्टीको सबभन्दा मजबुत पकड भएका अमरगढी नगरपालिका, नवदुर्गा र अजयमेरु गाउँपालिकामा स्थानीय तह चुनावमा लज्जास्पद हार बेहोरेको थियो । कांग्रेसकै अन्तरद्वन्द्वका कारण अमरगढी र नवदुर्गामा एमाले तथा अजयमेरुमा माओवादी स्थानीय तहमा विजयी भएका छन् । स्थानीय चुनावपछि यी दुई गुटका नेता र कार्यकर्ताबीच बोलचाल बन्द भएको थियो । वाम गठबन्धन बनेर पार्टीमाथि चुनौती बढेपछि मात्र दुई गुटका नेताबीच बोलचाल सुरु हुनुका साथै सँगै राजनीतिक गतिविधि गर्न थालेका छन् ।

पार्टी विवादले अमरगढी, नवदुर्गा र अजयमेरुको स्थानीय तहमा पराजित भएका कांग्रेस नेताहरू यी दुई गुटबीचको एकताप्रति सन्तुष्ट हुन सकिरहेका छैनन् । उनीहरूमा गुटको विवादले आफू हारेको पीडा छ । देउवाले उनीहरूको पीडामा मलम लगाउन सके मात्र उनको पक्षमा माहोल बन्ने स्थानीय बुद्धिजीवी बताउँछन् ।

देउवाले दुवै गुटका नेतृत्वकर्ता भट्ट र मल्ललाई प्रदेशसभा सदस्यतर्फ क्रमशस् ‘क’ र ‘ख’ को उम्मेदवार बनाएर पार्टीभित्रको विवाद मिलाउने प्रयास गरेका छन् । देउवाले दुवै गुटका अरू नेतालाई समेत प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक उम्मेदवार बनाएर सबैलाई समेट्न खोजेका छन् । दुवै गुटका नेतालाई उठाउँदैमा जिल्लाको सिंगो पार्टी पंक्ति एकढिक्का हुनेमा अझै आशंका छ । मल्ल र भट्ट समूहका स्थानीय नेता तथा कार्यकर्ताले सँगै प्रचारमा हिँडेर पार्टी एकजुट भएको सन्देश दिन खोजेका पनि छन् तर व्यवहारमा उनीहरू एकताबद्ध हुनेमा कतिपय कांग्रेसी नै विश्वस्त हुन सकेका छैनन् ।

वारेसमार्फत उम्मेदवारी दिएका देउवा आफ्नो प्रचार गर्न जिल्लामा आइसकेका छैनन् । कात्तिक ३० मा मात्र जिल्ला आउने उनको कार्यक्रम छ । जिल्ला आएपछि पार्टी पंक्तिलाई एकताबद्ध बनाएर वाम गठबन्धनतर्फको मतसमेत तान्ने वातावरण बनाउन सके मात्र देउवाको जित सुनिश्चित हुने डडेलधुरामा २० वर्षदेखि पढाइरहेका भुवनेश्वरी माविका शिक्षक चूडामणि जोशी बताउँछन् । ‘कडा टक्कर छ । दुईतिर फर्केको पार्टी पंक्तिलाई मिलाउन र वाम मतसमेत तान्न सक्नुभयो भने देउवाले जित्नुहुन्छ, नत्र भन्न सकिन्न,’ जोशीले भने ।

कांग्रेसका जिल्ला सभापति एवं प्रदेशसभातर्फ ‘ख’ का उम्मेदवार मल्लले डडेलधुरा र सिंगै सुदूरपश्चिमको विकास निर्माणमा देउवाको ठूलो भूमिका रहेकाले २७ वर्षदेखि रहेको देउवाको किल्ला यस पटक पनि कायम रहने दाबी गरे । ‘जिल्लामा सुरु भएका विकास निर्माण पूरा गर्न र आर्थिक समृद्धिका लागि पनि जनताले देउवाको विकल्प खोजेका छैनन् । उहाँले फेरि पनि भारी मतले जित्नुहुन्छ,’ मल्लले भने । उनले पार्टीभित्रको आन्तरिक द्वन्द्व पूर्ण रूपमा अन्त्य भइसकेको उल्लेख गर्दै प्रतिनिधिसभामा देउवालाई र प्रदेशसभामा दुवै उम्मेदवारलाई जिताउन कांग्रेस एकढिक्का भइसकेको दाबी गरे ।

शिक्षक जोशीले वाम गठबन्धनका कारण देउवासामु चुनौती बढेको र यस पटकको चुनावमा कडा टक्कर हुने बताए । ‘वाम गठबन्धनका कारण यस पटक देउवालाई कडा चुनौती थपिएको छ,’ उनले भने, ‘डडेलधुरावासीमा अरूले जिते सांसद मात्र हुने हो, देउवा जिते प्रधानमन्त्री हुन्छन् । जिल्लामा बढी विकास निर्माण ल्याउँछन् भन्ने बुझाइ छ । देउवाको जित्ने आधार पनि यही हो ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस