निर्वाचन अवलोकनमा कूटनीतिक समुदायको कम चासो « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

निर्वाचन अवलोकनमा कूटनीतिक समुदायको कम चासो


२७ कार्तिक २०७४, सोमबार


काठमाडौं । स्थानीय तह निर्वाचनमा पर्यवेक्षणमा चासो देखाएका कूटनीतिक समुदायले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको पर्यवेक्षण/अवलोकनमा चासो देखाएका छैनन् । अवलोकन तथा पर्यवेक्षण गर्ने क्षेत्र खुलाएर संख्यासहित आवेदन मागिए पनि आइतबारसम्म कसैले पनि आवेदन नदिएका हुन् ।

निवार्चन आयोगसँगको समन्वयमा परराष्ट्र मन्त्रालयले उनीहरूसँग आवेदन मागेको थियो । ‘तर, निर्वाचन हुन दुई साता बाँकी रहँदासमेत उनीहरूले चासो नदेखाउनुले निर्वाचन अवलोकनमा उनीहरू पछि हट्नु जस्तै हो,’ परराष्ट्रका एक अधिकारीले भने ।

निर्वाचनको मिति घोषणा भएलगत्तै १६ दूतावासले अवलोकनको इच्छा व्यक्त गरेका थिए । जान चाहेको स्थानसहित परराष्ट्र मन्त्रालयमा दूतावासबाट आवेदन दिनुपर्ने मापदण्ड राखिएपछि भने उनीहरू पछि हटेको हुन सक्ने अधिकारीले बताए । उनीहरूको आवेदन परेपछि मन्त्रालयले आयोगसँग समन्वय गरेर स्थान तय गरिदिने बताएको छ । सुरक्षा र अन्य व्यवस्थासमेत गरिदिनुपर्ने हुनाले समयमा आवेदन आउनुपर्ने हुन्छ । उत्तरी छिमेकी चीन र दातृ मुलुक जापानले अवलोकन गर्ने जानकारी मौखिक रूपमा दिएका छन् । आफूले अवलोकन गर्न चाहेको क्षेत्रहरूको नामसहित भने कसैले पनि जानकारी दिएका छैनन् । परराष्ट्रका एक अधिकारीले भने, ‘कुन स्थान जाने र कति जना जाने भनेर नाम माग्दासमेत उनीहरू मौन रहनु आश्चर्यजनक छ ।’

दूतावासहरूलाई दिइएको २० दिने सूचनाको म्याद आगामी बिहीबार सकिँदै छ । स्थानीय निर्वाचनमा अन्तर्राष्ट्रिय पर्यवेक्षणका लागि खुला नगरिए पनि प्रतिनिधिसभा र प्रदेशसभामा आयोगले अन्तर्राष्ट्रिय पर्यवेक्षकका साथै यहाँ रहेका दूतावासका अधिकारीलाई समेत चाहेको स्थानमा जाने अनुमति दिने निर्णय गरेको थियो । निर्वाचन पर्यवेक्षण गर्न ४ अन्तर्राष्ट्रिय र ५२ स्वदेशी संस्थाले निर्वाचन आयोगबाट स्वीकृति पाइसकेका छन् । अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू कार्टर सेन्टर, युरोपेली महासंघ, अनकावा इन्टरनेसनल र एसियन नेटवर्क फर फ्री इलेक्सनले आफ्नो काम नै अघि बढाइसकेका छन् । त्यस्तै अन्य गैरसरकारी स्थानीय संस्थाहरूले पनि पर्यवेक्षणका लागि मतदाता शिक्षाका बारेमा समेत अध्ययन थालेको बताइएको छ ।

नेपालभित्रका गैरसरकारी संस्था तथा निकायबाट ४४ हजार १ सय ४२ ले पर्यवेक्षण गर्ने भएकाले दूतावासले उनीहरूको सूचनालाई नै भरपर्दो मान्न सक्ने भएर नै आफंैले अवलोकन गर्न नखोजेको हुन सक्ने अधिकारीहरूले बताए । परराष्ट्र मन्त्रालयका उपसचिव डम्बरुबल्लभ पौडेल निर्वाचन पर्यवेक्षकको व्यवस्थापन र कूटनीतिक समन्वयमा खटिएका छन् । कूटनीतिक ‘फोकल पोइन्ट’ रहेका पौडेलले भने, ‘हामीलाई अझै जानकारी नदिनु चासो नराखेको जस्तो हो ।’ उनीसँगै अर्का अधिकृत रोशन खनालले पनि कूटनीतिज्ञ र पर्यवेक्षकको चासो मथ्थर गर्ने काम गरिरहेकी छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस