८८ केजी सुन तस्करी प्रकरण : मुख्य अभियुक्त छुटे, चालक जेल चलान « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

८८ केजी सुन तस्करी प्रकरण : मुख्य अभियुक्त छुटे, चालक जेल चलान


२५ कार्तिक २०७४, शनिबार


सुन

काठमाडौं । काठमाडौं जिल्ला अदालतले ८८ केजी सुन तस्करीका मुख्य अभियुक्त लाम्पा ग्लाजेन तामाङलाई सामान्य धरौटीमा छाड्ने आदेश दिएको छ । गाडीचालकहरू मनोज अधिकारी, दिलीप खड्का र दाम्पा लामालाई अदालतले मुख्य दोषी ठहर गरेको छ । जिल्ला अदालतका न्यायाधीश अमृतबहादुर बस्नेतको इजलासले शुक्रबार थुनछेक आदेश दिएको हो । तीनजना चालकले एक हजार रुपैयाँ लिएर सीमामा गाडी वारपार गराउने गर्थे ।

अदालतले मुख्य अभियुक्त तामाङसहित बांगेमुढामा शाक्य सुनचाँदी पसल चलाउने शुभरत्न शाक्य, रबिश्या ट्रेडर्स चलाउने सत्यनारायण अग्रवाल, रञ्जना कम्प्लेक्समा कार्यविनायक सुनचाँदी पसल चलाउने गणेश दत्त बडूलाई धरौटीमा छाड्ने आदेश दिएको हो । प्रहरी अनुसन्धान प्रतिवेदनको ठीकविपरीत अदालतबाट आदेश आएको छ । प्रहरीले घटनामा संलग्न भनिएका चालकहरू निर्दोष देखिएको जनाएको थियो । ४६ करोड बिगोदाबी भएको मुद्दामा दुईजनालाई चार–चार लाख तथा अन्य दुईजनालाई दुई÷दुई लाख रुपैयाँ मात्र धरौटी मागिएको छ ।

उनीहरूसहित दिनखर सालुखे र नन्दकुमार मर्गलेलाई पुर्पक्षका लागि जेल चलानको आदेश भएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार कृष्णप्रसाद शर्माले बताए । प्रहरी अनुसन्धानमा सुन तस्करीमा अग्रवाल र शाक्यको मुख्य भूमिका देखिएको थियो । तर, उनीहरू सामान्य धरौटीमै छुटेका छन् ।

अदालतले सामान्य तारेखमा छाड्ने आदेश दिएका तामाङ सुन तस्करी मुद्दामै हत्यामा समेत संलग्न व्यक्ति हुन् । १४ असोजमा स्वयम्भूमा तस्करीको ६ किलो सुन लुकाएको आरोपमा रसुवाका गगन तामाङको हत्या भएको थियो । हत्यामा संलग्नमध्ये एक लाम्पा ग्लाजेन तामाङ ८८ किलो सुन तस्करीमा समेत संलग्न रहेको खुलेपछि महानगरीय प्रहरी परिसरले उनलाई पनि प्रतिवादी बनाएको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस